विद्रोहीको आक्रमणमा मालीका रक्षामन्त्रीको मृत्यु


बीबीसी । विद्रोही आक्रमणमा मालीका रक्षामन्त्री सादियो कामारा मारिएका छन् । राजधानी बामाको नजिकै आफ्नै निवासमा भएको आत्मघाती ट्रक बम विस्फोटमा उनी मारिएका हुन् । राज्य सञ्चारमाध्यमले कामाराको मृत्यु पुष्टि गर्दै आक्रमणकारीसँगको भिडन्तका क्रममा घाइते भई अस्पतालमा उपचारका क्रममा निधन भएको जनाएको छ।

सरकारका प्रवक्ता इस्सा ओउस्माने कुलिबालीका अनुसार विस्फोटकले भरिएको सवारी साधनमा आएका आत्मघाती हमलाकारीले मन्त्रीको निवासलाई निशाना बनाएका थिए। कामाराले आक्रमणकारीसँग प्रतिकार गर्दै केहीलाई निष्क्रिय बनाउन सफल भए पनि गम्भीर घाइते भएका थिए।

घटनामा कामाराका कम्तीमा तीन जना पारिवारिक सदस्यको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। विस्फोटका कारण उनको निवास पूर्ण रूपमा ध्वस्त हुनुका साथै नजिकैको एक मस्जिद पनि क्षतिग्रस्त भएको छ, जहाँ केही उपासकहरूको ज्यान गएको बताइएको छ।

यसैबीच सैनिक जुन्टाका प्रमुख जनरल अस्सिमी गोइटालाई उनको निवास लक्ष्य बनाएपछि सुरक्षित स्थानमा सारिएको बताइएको छ।

देशका विभिन्न भागमा शनिबार ठूलो आक्रमण भएको खबर आएको छ। राजधानी नजिकको काती, उत्तरका गाओ र किडाल तथा मध्य क्षेत्रका सेभारे र मोप्टीमा झडप भएको जनाइएको छ।

पृथकतावादी समूह आजावाद लिबरेशन फ्रन्टले उत्तरी क्षेत्रका सहरहरूमा आक्रमण केन्द्रित गरेको जनाएको छ भने अल–कायदासँग आबद्ध जिहादी समूह जमाअत नुसरत अल–इस्लाम वाल मुस्लिमीनले देशभर एकैसाथ आक्रमण गरेको बताइएको छ।