काठमाडौँ । रास्वपाका सांसद विश्वराज पोखरेललाई ‘सम्मान नपुगेको’ प्रसंगले सामाजिक सञ्जाल तात्यो । यतिसम्मकी अरुले त विरोध गरे गरे आफ्नै पार्टीकाले पनि छाडेनन् । धेरै आलोचना भएपछि अन्ततः उनी माफी माग्न बाध्य भए र उनले विज्ञप्ति नै जारी गरी आगामी दिनमा संयम हुने बताए ।
अब रास्वापका अर्का सांसद कबिन्द्र बुर्लाकोटीको भिडियोले फेरि जग हँसाएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा शनिबार आयोजना भएको ११औँ भूकम्प स्मृति दिवसमा सहभागी हुन बुर्लाकोटी पुगेका थिए । कार्यक्रममा बुर्लाकोटीलाई अरु कसैले छाता ओढाएको दृष्यमा देख्न सकिन्छ । तर, देश हाँक्न सक्छु भनेर राजनीतिमा आएका माननीयहरु आफ्नो छाता आफैंले बोक्न चाहिँ किन सक्दैनन् ? भन्दै उनको आलोचना भइरहेको छ । यो दृष्यलाई लिएर सामाजिक संजालमा आलोचना भएपछि बुर्लाकोटीले स्पष्टीकरण दिएका छन् ।
यस्तो छ बुर्लाकोटीको भनाई
बारपाक सुलिकोट गाउँपालिकामा आयोजना भएको ११औँ भूकम्प स्मृति दिवसमा सहभागी हुने क्रममा पानी परेको थियो । म कार्यक्रममा ध्यानमग्न भई पालिका अध्यक्षको कुरा सुन्दै थिएँ । सोही क्रममा मेरो पछाडि बस्ने एकजना बुवाले छाता ओढ्दै मसँग केही कुरा गर्दै हुनुहुन्थ्यो। पछि कुरा सकिए पछाडि उहाँको छाताको बलेनी मेरो शरीरमा परेको र उहाँले छाताले पानी छेक्न खोजेको देखेपछि मैले उहाँलाई अगाडि आउन भने र हामीलेसँगै छाता ओढ्यौँ ।
पानी परेकै कारणले कार्यक्रम हतारले समापन गरियो । यो सबै कुराहरू कार्यक्रमको भिडियोमा देख्न सकिन्छ । करिब १ मिनेट जति छाता ओढाएको देखिने फोटो भिडियो र फोटो मैले थाहा नपाइकन भएको घटनाको हो । मेरा शुभचिन्तक र आम जनसमुदायमा यस सम्बन्धमा स्पष्ट गर्न चाहन्छु र यस असावधानीका लागि म माफी माग्न चाहन्छु । धन्यवाद।

प्रतिक्रिया