इन्जिनियरिङ प्रवेश तयारीमा उत्कृष्ट नतिजाको लक्ष्यसहित पिइए ३३औँ वर्षमा प्रवेश


काठमाडौं । इन्जिनियरिङ अध्ययनका लागि प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्दै आएको मुलुककै अग्रणी संस्था पिइए एशोसियसनले स्थापना भएको ३२ वर्ष पूरा गरी ३३औँ वर्षमा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा शिक्षा क्षेत्रसँग आबद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीसहित करिब ६० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाले विभिन्न विधामा योगदान पुर्याएका प्राध्यापक तथा विद्यावारिधि प्राप्त व्यक्तित्वहरूलाई बधाई तथा सम्मान गरेको थियो । गणिततर्फ प्रा.डा. परमेश्वरी कट्टेल र प्रा.डा. रमेश तिमिल्सिनालाई सम्मान गरिएको थियो भने गणित विषयमा विद्यावारिधि हासिल गरेका डा. चेतनाथ तिवारी, डा. झविलाल घिमिरे र डा. पवन श्रेष्ठलाई समेत सम्मान प्रदान गरिएको थियो ।

त्यसैगरी भौतिकशास्त्रतर्फ अमृत साइन्स क्याम्पसका प्रमुख प्रा.डा. होमबहादुर बानियाँ तथा भौतिकशास्त्रमा विद्यावारिधि हासिल गरेका डा. शालिकराम भण्डारीलाई सम्मान गरिएको थियो । अंग्रेजी विषयमा विद्यावारिधि प्राप्त गरेका डा. रवि श्रेष्ठलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रा.डा. परमेश्वरी कट्टेलले पछिल्लो समय सरकारले शिक्षामा अघि सारेको नीतिगत दिशाअनुसार विद्यार्थीमैत्री वातावरण निर्माण गर्दै शिक्षण प्रणालीलाई व्यवहारिक र प्रतिस्पर्धी बनाउन आवश्यक रहेको धारणा राखे ।

कार्यक्रमकै अवसरमा तोया नारायण पौडेललाई संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरिएको घोषणा गरिएको थियो । नवनियुक्त सिइओ पौडेलले दूरदराजमा प्लस टु अध्ययन गरेका विद्यार्थीलाई प्रतिस्पर्धात्मक प्रवेश परीक्षामा उत्कृष्ट नतिजासहित सफल गराउने उद्देश्यका साथ संस्था अघि बढिरहेको बताउँदै आगामी दिनमा संस्थालाई अझ प्रभावकारी र परिणाममुखी ढंगबाट सञ्चालन गरिने धारणा राखे ।

संस्थाका कार्यकारी निर्देशक लक्ष्मण पोखरेलले तीन दशकभन्दा लामो अनुभव बोकेको संस्थाले प्रदान गर्दै आएको सेवालाई समयसापेक्ष परिमार्जन गर्दै अझ गुणस्तरीय र प्रभावकारी बनाइने बताए । बदलिँदो शैक्षिक परिवेश र विद्यार्थीको आवश्यकतालाई ध्यानमा राखेर प्रविधिमैत्री शिक्षण प्रणालीलाई थप सुदृढ बनाइने उनले उल्लेख गरे ।

संस्थाका अध्यक्ष शैलेन्द्र कुमार मिश्रले कक्षा १२ को परीक्षा सम्पन्न भएपछि प्रवेश परीक्षाको तयारीका लागि अत्यन्त सीमित समय रहने भएकाले छोटो अवधिमै प्रभावकारी अध्यापनमार्फत उत्कृष्ट नतिजा दिलाउने दिशामा संस्था केन्द्रित रहेको बताए । उनले डिजिटल युगको आवश्यकता अनुरूप शिक्षण प्रणालीलाई थप आधुनिक र प्रविधिमैत्री बनाउँदै लगिने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रमको सञ्चालन पिइए एशोसियसनका प्रिन्सिपल सनत कुमार गिरीले गरेका थिए।