‘माननीय’ मान्नु कि धिक्कार्नु ?’


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेल विवादमा तानिएका छन् । ओखलढुंगामा एउटा विद्यालयका प्रधानाध्यापकमाथि गरेको व्यवहारलाई लिएर पोखरेल विवादमा तानिएका हुन् । जिल्लाको एउटा माननीय आउँदा हेड मास्टरभित्र चुप लागेर बस्ने ? भन्दै थर्काएको भिडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका हुन् ।

पोखरेलको अभिव्यक्तिको रास्वपाबाटै विरोध भएको छ । रास्वपाका सांसद गणेश कार्कीले पोखरेललाई भुइँ नछाड्न सुझाव दिएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ‘म माननीय भनेको राम्रो सुनिन्छ र ? सुनिँदैन त । आवश्यक नै भयो भने म सांसद भन्दा भयो बरु । यही सांसद पद पनि बढीमा ५ वर्ष हो । के बानी पार्नु ? अनि ’हजुर एक भोट दिनुस् न’ भन्दै हजारौं नमस्ते गरेको २ महिना नि भा छैन, के बिर्सिनु । भुइँ नछोडौँ न है ।’

पूर्वशिक्षामन्त्री एवं स्वतन्त्र सांसद महावीर पुनले आफ्नो पार्टीका त्यस्तो व्यक्ति भए तत्काल बर्खास्त गर्ने बताएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ‘यिनी कुन पार्टीका हुन् कुन्नी ? म यिनको नेता भएको भए ठाउँको ठाउँ ठहरै बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिएँ । सांसद भनेको जनताको नोकर हो । एउटा सांसदले आफ्नो क्षेत्रको जनताले अह्राएको काम गर्नु पर्छ । ५ वर्षसम्म आफ्नो समय र बलबुद्धि जनताको काममा लगाउनु पर्छ । बाटोमा स्वागत गरेनन् भनेर उसले दुनियाँले देख्ने र सुन्ने गरेर यति धेरै धाक र रवाफ दिनु हुन्छ ? कि तुरुन्त माफी माग्नु परÞ्यो कि त सारा जनताले फिर्ता बोलाउनु पर्यो । सांसद पदको बेइज्जत नै गर्यो त ।’

शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले पोखरेल रास्वपामा सांसद पोखरेलको व्यवहारले उनलाई माननीय भन्न नसुहाउने टिप्पणी गरेका छन्, दाहालले सामाजिक सञ्जालमा लेखेका छन्,‘आफू आउँदा स्वागतार्थ स्कुल गेटमा लामबद्ध नभएकोमा प्रधानाध्यापक पद र व्यक्तिको सार्वजनिक अपमान गर्नेलाई ‘माननीय’ मान्नु कि धिक्कार्नु ?’

रास्वपा समर्थक स्वस्तिका लामिछानेले पनि पोखरेलले आफ्नो हैसियत बिर्सिको भन्दै आपत्ति जनाएकी छन् । उनी सामाजिक संजालमा लेख्छिन्, ‘माननीयज्यूले बोल्न सिक्नु पर्ने रहिछ । बरु बोल्न सिक्ने कक्षा सुरु गर्नुस् हामी सिकाइदिउँला जनतासँग कसरी बोल्ने भनेर ४ वर्षको अनुभव छ हामीसँग । फौजीमा आफू भन्दा सानालाइ थर्काए जसरी आफ्ना मतदाता थर्काउन पाइदैन हेक्का रहोस् । तपाईंलाई माननीय बनाउन हाम्रो मेहनत कति छ भन्ने तपाईंलाई थाहा छैन होला । ४ वर्षदेखि गरेको हाम्रो दुखको कदर गर्दिनु होला । माननीय भए भन्दैमा मै मता हुने काम बन्द गरियोस् । कसले बनायो माननीय यिनै जनताले होइन ? माथि उचाल्न सक्नेले भुइँमा पछार्न नि सक्छन् हेक्का रहोस्।’