रोयटर्स । स्ट्रेट अफ होर्मुज नजिक इरानले साना तर तीव्र गतिका डुंगाहरू (स्पीडबोट) को समूह प्रयोग गरी दुई कन्टेनर जहाज नियन्त्रणमा लिएपछि अन्तर्राष्ट्रिय ढुवानी सुरक्षाबारे नयाँ चिन्ता उत्पन्न भएको छ । यस घटनाले अमेरिकी पक्षले इरानको नौसैनिक खतरा कमजोर भएको दाबीमाथि प्रश्न उठाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानको परम्परागत नौसेना धेरै हदसम्म ध्वस्त भए पनि ‘फास्ट–अट्रयाक’ डुंगाहरूलाई ठूलो खतरा मानिएको थिएन भनेर स्वीकार गरेका थिए । उनले अमेरिकी नाकाबन्दी नजिक आउने यस्ता डुंगाहरूलाई ‘तुरुन्तै नष्ट गरिने’ चेतावनी दिएका छन् ।
विशेषज्ञहरूका अनुसार इरानका यस्ता डुंगाहरू भारी मेसिनगन, रकेट लञ्चर र कतिपय अवस्थामा जहाजविरुद्धका क्षेप्यास्त्रले सुसज्जित हुन्छन् । ग्रीक समुद्री सुरक्षा कम्पनीका अनुसार स्पीडबोट आक्रमणहरू अहिले तटीय क्षेप्यास्त्र, ड्रोन, माइन्स र इलेक्ट्रोनिक अवरोधसहितको ‘बहुस्तरीय खतरा प्रणाली’ को हिस्सा बनेका छन् ।
यो जलमार्ग विश्वको करिब २० प्रतिशत दैनिक तेल तथा तरल प्राकृतिक ग्यास आपूर्तिको प्रमुख मार्ग मानिन्छ । अप्रिल ८ को युद्धविरामपछि इरानले मिसाइल र ड्रोन आक्रमण रोकेको भएपनि पछिल्लो जहाज कब्जा घटनाले जोखिम फेरि बढाएको संकेत दिएको छ ।
यो घटना वासिङ्टनले इरानमाथि समुद्री व्यापार नाकाबन्दी कडा बनाउँदै इरानसँग सम्बन्धित ट्यांकरहरू अवरोध गर्न थालेपछि भएको हो । बेलायती समुद्री सुरक्षा कम्पनी एम्ब्रेका विश्लेषक ड्यानियल म्युलरका अनुसार नागरिक ढुवानी क्षेत्र यस्ता सशस्त्र हस्तक्षेप रोक्न सक्षम छैन, र सामान्यतया यस्ता अपरेशनमा करिब एक दर्जन डुंगाहरू प्रयोग हुने गर्दछ।

प्रतिक्रिया