वाशिङ्टनले इरानको समुद्री व्यापारमाथिको नाकाबन्दीलाई कडा पार्दै


रोयटर्स । अमेरिकी सेनाले एसियाली जलक्षेत्रमा कम्तीमा तीन इरानी झण्डावाहक तेल ट्यांकर रोकेको छ । अमेरिकी सेनाले तिनीहरुलाई भारत, मलेसिया र श्रीलंकाको आसपासबाट अन्यत्र मोडेको अन्तर्राष्ट्रिय संचारमाध्यले जनाएका छन् ।

रोयटर्सका अनुसार वाशिङ्टनले इरानको समुद्री व्यापारमाथि नाकाबन्दी कडा पार्दै आएको छ भने इरानले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने जहाजहरूलाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ । अमेरिका र इजरायलबीच इरानविरुद्ध सुरु भएको युद्ध करिब दुई महिना पुग्दा पनि असहज युद्धविराम जारी रहेकाले शान्ति वार्ता अनिश्चित बनेको छ ।

होर्मुज जलडमरूमध्य अवरुद्ध हुँदा विश्वको करिब पाँचौं हिस्सा तेल तथा ग्यास आपूर्ति प्रभावित भएको छ, जसले विश्वव्यापी ऊर्जा संकट चर्काएको छ। पछिल्ला दिनहरूमा अमेरिकी सेनाले एक इरानी मालवाहक जहाज र एक तेल ट्यांकर नियन्त्रणमा लिएको जनाएको छ।

स्रोतहरूका अनुसार ‘डीप सी’, ‘सेभिन’ र ‘डोरेना’ नामक इरानी ट्यांकरहरू अवरोधमा परेका छन्। तीमध्ये ‘डोरेना’ पूर्ण रूपमा कच्चा तेलले भरिएको अवस्थामा भारतको दक्षिणी तट नजिक देखिएको थियो भने अन्य जहाजहरू मलेसिया आसपास देखिएका थिए ।

अमेरिकी केन्द्रीय कमाण्डले ‘डोरेना’ लाई नाकाबन्दी उल्लंघन गर्ने प्रयासपछि हिन्द महासागरमा अमेरिकी नौसेनाको निगरानीमा राखिएको जनाएको छ। साथै, ‘डेर्या’ नामक अर्को ट्यांकर पनि अवरोधमा परेको हुनसक्ने बताइएको छ।

नाकाबन्दी सुरु भएयता अमेरिकाले २९ वटा जहाजलाई मार्ग परिवर्तन गर्न वा बन्दरगाह फर्किन निर्देशन दिएको बताइएको छ। तर, अवरोध गरिएका सबै जहाजहरूको पूर्ण विवरण सार्वजनिक गरिएको छैन।