चितवनमा फैसला कार्यान्वयनका क्रममा ५८० जना पक्राउ


चितवन । चितवन जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई पक्राउ गरिएको छ । उनीहरूलाई जिल्ला विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

फैसला कार्यान्वयनका लागि पक्राउ परेकाहरूबाट १०१ वर्ष १० महिना १९ दिन कैद भुक्तान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । उनीहरूबाट रु. पाँच करोड ३६ लाख ५४ हजार १७ जरिवाना असुल गरिएको उनले बताए ।

सूचना अधिकारी खनालका अनुसार फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालयसहित विभिन्न निकायको सक्रियता आवश्यक छ ।

उनले भने, “फैसला कार्यान्वयनका लागि प्रहरीले सादा पोसाक र बर्दिमा प्रहरी परिचालन गरिएको छ ।”

गत आवमा फैसला कार्यान्वयनका लागि ५८३ जना पक्राउ परेका थिए । उनीहरूबाट १२७ वर्ष छ महिना तीन दिन कैद भुक्तान भएको थियो ।

पक्राउ परेका उनीहरूले रु. दुई करोड ५८ लाख ७९ हजार ४१९ जरिवाना भुक्तान गरेका थिए । फैसला कार्यान्वयनका क्रममा जिल्ला बाहिर कैद तथा जरिवाना भुक्तान गर्नुपर्नेहरुलाई पक्राउ गरिएको सूचना अधिकारी खनालले जानकारी दिए ।

कार्यालयले चालु आवमा ५३ सवारी चालकले लागुऔषध सेवन गरेर सवारी चलाएको पाइएको उनले जानकारी दिए ।