कास्की । गत २४ भदौमा भएकाे जेन–जी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका एक कैदी पाेखराबाट पक्राउ परेका छन् ।
कास्की कारागारबाट भागेका पोखरा महानगरपालिका– १७, छोरेपाटनका ३० वर्षीय तेन्जिङ कुल्सङ गुरुङलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
गुरुङलाई नियन्त्रणमा लिई मंगलबार कारागार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए ।
गुरुङ लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बेला जेन–जी आन्दोलनमा कारागारबाट फरार भएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय मातहतको वडा प्रहरी कार्यालय, बैदामको टोलीले पोखरा– ६, डिकोपाटनबाट पक्राउ गरेको थियो ।
केही दिनअघि पनि कास्की प्रहरीले जेन–जी आन्दोलनका क्रममा रौतहट कारागारबाट भागेका कैदी ३० वर्षीय केदार परियारलाई पोखराबाट पक्राउ गरेको थियो ।
हाडनाता जबर्जस्ती करणी मुद्दामा रौतहट जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय पाएका परियारलाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरिएको थियो ।
रौतहटको डुमडिया गाउँपालिका–१० का परियारले अझै १८ वर्ष चार महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया