–नारायण गाउँले ।
गृह मन्त्रालय मान्छे समाउने मन्त्रालय होइन । त्यहाँ राष्ट्रिय सुरक्षादेखि इन्टेलिजेन्ससम्मका अतिसंवेदनशील सूचना हुन्छन् । देशको सीमाभित्र हुने सीआईए, रअ, आईएसआईजस्ता विदेशी एजेन्सीहरूका गतिविधिमाथि सूक्ष्म निगरानी गर्ने र गोप्य सूचनाहरू सङ्कलन र प्रोसेस गर्ने काम त्यहाँ हुन्छ । केही चिनियाँ चासो हुन्छन्, केही भारतीय चासो छन् । केही अनावश्यक होलान् केही भ्यालीड सुरक्षाचिन्ता पनि होलान् । अपराध र आतङ्कवाद नियन्त्रणदेखि सीमासुरक्षासम्मको गहन जिम्मेबारी त हुन्छ नै तीन करोड नागरिकको तथ्याङ्क पनि त्यहीँ हुन्छ !
त्यस्तो संवेदनशील मन्त्रालयमा कानुनदेखि भूराजनीतिसम्म बुझ्ने स्वच्छ र विज्ञ दुबै चरित्र भएको कोही परिवक्व नेता आउला भन्ने मेरो विश्वास थियो । यो सरकार बन्दै गर्दा सबैभन्दा कमजोर कडी लागेको निर्णय त्यही थियो । केही व्यक्तिलाई पक्राउ गर्ने र दुई चार दिन हिरासतमा राख्ने कामभन्दा त्यो मन्त्रालय निकै ठूलो र संवेदनशील निकाय हो । यो ’देखाइदिने’ मन्त्रालय होइन ।
मिहिनेतपूर्वक अनुसन्धान गरेर, पर्याप्त प्रमाण जुटाएर, विधि–प्रक्रिया र नियमहरू पूरा गरेर दोषीमाथि मुद्दा दर्ता गर्ने र सजाय दिलाउने काम न्यायिक सफलता हो । तर शक्तिको तुजुक देखाएर, गृहकार्यबिनै जथाभावी पक्राउ गर्ने र दुई दिनपछि छोड्ने काम सफलता होइन ।
त्यसले आरोपितलाई झन् बलियो त बनाउँछ नै, सरकारको निष्पक्षता र विश्वसनीयता पनि घटाउँछ । मन्त्रीले प्रहरी कार्यालयमा धर्ना बसेर जबरजस्ती समाउन लगाउने र फेसबुकमा ९–१० विकेट डाउन भन्दै प्रदर्शन गर्ने काम आफैमा एकदम उत्ताउलो र असंवेदनशील थियो । अपराधी पक्रिने काम मन्त्रीको होइन, प्रहरीको हो र त्यही देखिनुपर्छ । मन्त्रीको काम प्रहरीलाई पछि लगाएर हिँड्ने होइन, बरु प्रहरीलाई स्वायत्त र व्यावसायिक बनाएर पद्धति (क्थकतझ) बसाल्ने हो।
जुन पृष्ठभूमि र आन्दोलनबाट आएको छ, त्यस अनुसार सुशासन यो सरकारको अर्जुनदृष्टि हुनुपर्छ । सम्पूर्ण भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्ने ठूलो जिम्मा गृहमन्त्रीमाथि हुन्छ । त्यहाँ बेदाग र आत्मबल उच्च भएको मान्छे आवश्यक हुन्छ ।
सम्पत्ति नभएर राम्रोसँग पढ्न पनि नपाएको भन्ने अन्तर्वार्ता दिने मन्त्रीले कानुनी सीमाभन्दा धेरै बढी जग्गा जोड्नुभएको छ । छोराले पैतृक भन्ने, बुबाले छोराले कमाएर किनेको भन्ने ! अरूलाई हदबन्दी लाग्ने, मन्त्रीलाई छूट हुने । प्रश्न उठाए झोले भइने ।
आठ दश वर्षमा अर्ब रुपियाँ नाफा कमाउने उद्योग व्यवसायले पक्कै खर्बको कारोबार गर्छ, करोडौं कर तिर्छ र रोजगारी दिन्छ । त्यसको विवरण पढ्न पाइएको छैन । एनजिओहरूदेखि संदिग्ध बिचौलियाहरूसँग उठबस देखिने, कारोबार देखिने, बिना कुनै भरपर्दो व्यवसाय करोडौंको नाफा देखिने स्थितिमा आमजनतालाई शङ्का त हुन्छ नै । कन्फ्लिक्ट अफ इन्ट्रेस्टको कुरो पनि पक्कै गाँसिन आउँछ । कारबाही गर्नुपर्नेसँग आफ्नै व्यापारिक साझेदारी रह्यो र आफ्नै सम्पत्ति हदबन्दीभन्दा बढी रह्यो भने उसले गर्ने निर्णय कस्तो होला ?
जेनजी आन्दोलन नेपाली युवाहरूको थियो । अवसरविहीन मान्छेहरूको थियो । राजनीतिलाई मुठ्ठीभरका सम्भ्रान्तहरूले कब्जा गरेको र गरिब जनताको पहुँचभन्दा बाहिर गएकोमा थियो । गरिबले कहिल्यै चुनाब लड्न र मन्त्री बन्न नसक्ने स्थितिसँग थियो । बिचौलियाको जालोमा फस्दै गएको शासनसत्तासँग थियो । केही वर्षमैं करोडौं कमाउने अवसर र पहुँच पाएका व्यापारीको आन्दोलन थिएन त्यो ! स्मरण रहोस्, कर तिरेर, रोजगारी सिर्जना गरेर र देखिने गरी व्यवसाय गरेका भाटभटेनीदेखि चौधरी ग्रुपसम्मका व्यवसायमा आगो लागेको थियो ।
यो सरकार केही दिनको होइन । कसैसँग साँठगाँठ गर्न पर्ने स्थितिको पनि होइन । भ्रष्टाचारदेखि कमिशनतन्त्रसम्मको पुरानो भारी पनि यससित छैन । जनताको अपार आशा र भरोसा पनि छ । केही भाइरल र गालीबाज भएकैले जितेका पनि होलान्, तर धेरैजसो विद्वान्, विज्ञ र कर्मठहरूले जितेका छन् । त्यसैले मानवस्रोतको पनि कमी छैन । आफैँबाट उदाहरण लेख्न सुरु गर्ने कि ! आरोपमात्रै हुन् भने बोक्रा खोलेर सफा चरित्र देखाउने कि !

प्रतिक्रिया