प्रचण्ड र नारायणकाजीसँग पार्टी एकताबारे कुनै कुरा भएको छैनः अध्यक्ष ओली


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताबारे कुनै कुरा नभएको स्पष्ट पारेका छन् ।

आफूलाई भेट्न आइतबार गुण्डुस्थित निवासमा आएका पार्टीका नेता विशाल भट्टराईसँगको भेटमा अध्यक्ष ओलीले प्रचण्ड र नारायणकाजीसँग पार्टी एकताबारे कुनै कुरा नभएको बताएका हुन् ।

अध्यक्ष ओलीको भनाई उदृत गर्दै भट्टराईले भने, ‘नेकपाका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ लगायतका धेरै नेताहरु स्वास्थ्यलाभको कामना गर्न अस्पताल आउनुभएको हो , पार्टी एकता सम्बन्धी कुनै कुरा भएको छैन । तर पार्टी एकता कहिल्यै पनि हुदैन वा जसरी पनि र जस्तोसुकै अवस्थामा पनि हुन्छ भन्ने दुबै गलत कुरा हुन् ।’

भेटमा ओलीले आजका सन्दर्भमा नेकपा (एमाले) को सिद्धान्त, नीति, कार्यक्रमलाई स्वीकार गर्ने शक्तिसँग मात्र एकता हुने कुरा बताएको उल्लेख गरेका छन् ।

भट्टराईले सामाजिक संजालमा लेखेका छन्, ‘आजका सन्दर्भमा नेकपा (एमाले) को सिद्धान्त, नीति, कार्यक्रम लाई स्वीकार गर्ने शक्तिसंग मात्र एकता हुनसक्छ्। पहिलाको जस्तो सैद्धान्तिक, बैचारिक र सांगठनिक एकरुपता बिनाको पार्टी एकता सम्भव छैन । एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको नीति र नेत्रृत्वलाई स्वीकार गर्नेहरुसंग मात्र पार्टी एकता गर्न सकिन्छ।’

भेटमा अध्यक्ष ओलीले आफू पूर्णतः स्वस्थ भएपछि पार्टीका नियमित गतिबिधिमा फर्कने र देशब्यापी रुपमा कार्यकर्ता र जनतामा आशा जगाउने कार्यक्रम ल्याएर अघि बढ्ने बताएका छन् ।

अध्यक्ष ओलीले सरकार झुटा मुद्दा खडा गरेर जुनसुकै बेला जसलाई पनि पक्राउ गर्न लागेको बताएका छन् । ओलीले भनेका छन्, ‘वर्तमान सरकारले आफूलाई गरेको धरपकड प्रतिसोधपूर्ण र पूर्वाग्रहपूर्ण थियो र अदालतले छुटकारा दियो तर अनेकन् झुटा मुद्धा खडा गरेर कुनै पनि बेला जो कसैलाई पक्राउ गर्न सक्छ । मेरा हकमा हिजो लगाईएको प्रत्येक लान्छनाको छानबिन होस् र एमालेलाई बदनाम गर्न हिजो उछालिएका प्रत्येक कुराको निष्पक्ष छानबिन गरियोस् र सत्यतथ्य बाहिर आओस्। यस्ता प्रत्येक मुद्दाको निष्पक्ष छानबिन भए हामी सामना गर्न तयार छौं।’