काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले सरकारले हालै देशका विभिन्न स्थानमा सुकुम्वासी परिवारहरूलाई विकल्पबिना उठिबास गराउने कार्य गरेको भन्दै आपत्ति जनाएको छ ।
आइतबार विज्ञप्ति जारी गरी नेकपाले यस्तो कदमलाई ‘अमानवीय’ भन्दै तत्काल रोक्न र पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।
विज्ञप्तिमा सुकुम्वासी व्यवस्थापनका नाममा गरिएका गतिविधिले पीडित परिवारलाई बिचल्ली बनाएको र सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर हुने खतरा बढेको उल्लेख गरिएको छ। पार्टीले सरकारलाई अझ लोकतान्त्रिक, उत्तरदायी र समावेशी बन्न आग्रह गर्दै सुकुम्बासी, किसान, मजदूर तथा उत्पीडित समुदायप्रति जिम्मेवार हुन सुझाव दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रको सुदृढीकरण अधिकार खोसेर वा जनताको घरबास उजाडेर सम्भव हुँदैन ।’
त्यस्तै नयाँ सरकार गठन लगत्तै बजारमा महँगी र कालोबजारी बढेको भन्दै पार्टीले तत्काल नियन्त्रण गर्न पनि माग गरेको छ ।
त्यसैगरी नेकपाले विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासलाई संविधानविपरीत र अस्वीकार्य भनेको छ । पञ्चायती व्यवस्थाको समयमा समेत उपभोग गरिएको संगठित हुने अधिकार संघीय लोकतान्त्रिक गणतन्त्रमा खोस्ने प्रयास भएको भन्दै यसप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ ।
साथै, ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासले संवैधानिक अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको उल्लङ्घन हुने उल्लेख गरिएको छ ।


प्रतिक्रिया