राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छः अध्यक्ष लिङ्देन


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा गल्ती कमीकमजोरीहरू सच्याएर पुनर्गठित भएर उठ्ने बताएका छन् ।

आइतबार सामाजिक संजालमार्फत अध्यक्ष लिङ्देनले राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैलाई नेख्न आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ। म जस्ता असंख्यको रगत, पसिना र बैँस खर्चेर बनेको यो राप्रपाले चुनाव पो हारेको हो त चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य सकिँदैन।’

उनले राप्रपा अभिभावकीय राजसंस्था, सनातन धर्म सापेक्ष हिन्दू राष्ट्रबाट पछाडि नफर्किने बताएका छन् ।

उनले भनेका छन्, ‘न राप्रपा अभिभावकीय राजसंस्था, सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र, आर्थिक रूपले मात्र होइन प्रशासनिक दृष्टिकोणले समेत झन्झटिलो र बोझिलो प्रदेश संरचना सम्बन्धित आफ्नो अवधारणाबाट पछाडि फर्किन्छ। आफ्नो सारा गल्ती कमीकमजोरीहरू सच्याएर राप्रपा पुनर्गठित भएर उठ्नेछ।’