सीमा क्षेत्रमा नागरिकलाई यस्तो दुःख किन ?


जेपी गुप्ता ।
अर्थमन्त्रीजीको तर्कमा असहमत हुने ठाउँ छैन । हामी गलत हुन्छौँ, जब हामी यो ययार्थ बुझ्दैनौँ । नेपाल सरकारले हालै भारतबाट नेपाल आउने मोटर/जीप/कार/भ्यान जस्ता चार पाङ्ग्रे सवारी साधनको अस्थायी भन्सार प्रवेश शुल्क (daily entry fee) मा नयाँ बजेट अगावै उल्लेख्य बृद्धि गरेको छ।

अर्कोतिर वीरगंज जस्ता सीमावर्ती शहरहरूबाट भारत, बिहार तिरका रक्सौल जस्ता शहरहरूमा ट्यांकी भरी पेट्रोल, डिजल भर्न जाने मोटरबाइक, साना चार पांग्रे आदि निर्वाध छ। त्यता पेट्रोलको प्रति लिटर औसत मूल्य नेरू १७१ जति छ। नेपालको बिराटनगर–बिरगंजहरूमा रू. २२१ बढी। यदि एक थान बाईकमा १० लिटर मात्र पेट्रोल हाल्ने हो भने रू. ५००/ जोगिन्छ। यसरी तेल लिई आउनेलाई हालैको निर्देशन अनुरूप रू. १०० का समान लिई आउनेलाई भन्सार काट्नु पर्ने नियम लाग्दैन।
चिनी लिई आउनेप्रति समस्या छ। उता प्रतिकेजी चिनी भारू ४६ (नेरू ७३.६०) पर्छ। यता लगभग १००–१०४ सम्म। उताको भन्सारले ५ केजीसम्म चिनी लिई आउन दिन्छ। ५ केजी लिई आउनेको करिब रू. १५० बचत हुन्छ। यसमा हानथाप, खोसाखोस, कुटाकुट छ।

हिजो इटहरीमा रू. ४० प्रति केजी पाईएको गोलभेडा ३ घण्टाको दूरी न भएको धनकुटामा रू. ७० थियो।
इलाम, पशुपतिनगरको लक्की डेरीमा ६० दिन भित्र नौनी रू. ७५० बाट बढेर ९५० भयो। किसानबाट दूध खरिदको मूल्य, खपत हुने बिद्युत महशूल र उत्पादनमा संलग्न कर्मचारीको तलब केही बढेको छैन। ‘न किन न त!’ बिक्रेताको यो जवाफ ठिकै होला।
चीनबाट आयात गरिएको ‘फुजी नामाकरण’को स्याउ आयात प्रोत्साहनमा पर्छ। नेपालका शीत भण्डारहरूमा ५–१० दिन पनि न राखेर सोझै भन्सार निर्यात शुल्क लिई भारत पठाइन्छ। तर,बिषादीको प्रयोग भएको छ वा छैन–कुनै प्राविधिक यकिन नै नगरी भारतबाट भित्राइएको भनिएको त्यो भयानक अवैध केरालाई खाल्डो खनेर यत्नका साथ पुरिँदैछ।

मेरो गृह नगरपालिकाले गत आर्थिक वर्षमा सडक छोएको जग्गाको भूमिकरमा प्रतिकठ्ठा ९०%ले बृद्धि गरिएकोमा जनताले सहिष्णुताका साथ योगदान दिएकै छन्। यस्ता कति छन् कति, यताका कुराहरू….। जे होस्, स्वीस बैंकमा थुप्रिएको भनिएको पैसा नआइन्जेलसम्मका लागि यिनैमा भएपनि थोर थोर सहुलियत दिए हुन्छ नि प्रिय सरकार !