काठमाडौँ । उज्यालो नेपाल पार्टीले पेट्रोलियम पदार्थमा दिनदिनै जस्तो मूल्य वृद्धि गरिएको भन्दै आपत्ति जनाएको छ । विज्ञप्ति जारी गरी पार्टीले नयाँ सरकार गठनपछि पेट्रोलियम पदार्थको मूल्यमा स्थिरता आउनुपर्नेमा त्यसको उल्टो भएको भन्दै आपत्ति जनााएका हो ।
गत २६ मार्चमा प्रतिलिटर १८७ रुपैयाँ रहेको पेट्रोलको मूल्य १६ अप्रिलसम्म आइपुग्दा २१९ रुपैयाँ पुगेको पुग्नु तथा १६७ रुपैयाँ रहेको डिजेलको मूल्य २३७ रुपैयाँ पुग्नु दुःखद भएको पार्टीले जनाएको छ । यसरी छोटो समयमै पेट्रोलमा ३२ रुपैयाँ र डिजेलमा ७० रुपैयाँको वृद्धि हुनुले आम सर्वसाधारण र समग्र अर्थतन्त्रमा गम्भीर असर परेको पार्टीको ठहर छ ।
विज्ञप्तिमा भनिएको छ, ‘इन्धनको मूल्य एक पटक बढ्दा त्यसको असर पेट्रोल पम्पमै सीमित रहँदैन । यातायात, ढुवानी, कृषि, निर्माण, उद्योग, खुद्रा व्यापार, विद्यालय, अस्पताल र घरपरिवारको दैनिक खर्चसम्म यसको श्रृंखलाबद्ध असर पुग्छ । अझ गम्भीर पक्ष के हो भने बजारमा एक पटक लागतको नाममा भाउ उक्लिएपछि, पछि इन्धन मूल्य पुरानै भाउमा फर्किए पनि धेरै वस्तु तथा सेवाको मूल्य पुरानै स्तरमा फर्किँदैन । त्यसैले इन्धन मूल्यवृद्धि महँगीको अनुकूल वातावरण सिर्जना गर्ने सबैभन्दा संवेदनशील कारणमध्ये एक हो ।’
पार्टीले दक्षिण एसियाका अन्य मुलुकले कर समायोजन र अनुदानमार्फत जनतालाई राहत दिए पनि नेपाल सरकारले भने केवल मूल्य बढाउने निर्णयलाई मात्र अनुमोदन गरिरहेको लगाएको छ । उसले राज्यले मूल्य नियन्त्रण, राहत, पारदर्शिता र विकल्प विकासमा सक्रिय भूमिका खेल्नुपर्ने उल्लेख गरेको छ ।
यस्ता छन् उज्यालो नेपाल पार्टीका माग
१. पेट्रोलियम पदार्थमा लगाइएका कर र भन्सार शुल्कको तत्काल पुनरावलोकन गरी मूल्य घटाइयोस् ।
२. मूल्य स्थिरीकरण कोषको रकम तत्काल परिचालन गरी जनतालाई राहत दिइयोस् ।
३. नेपाल र भारतबीचको मूल्य अन्तर कम गर्न विशेष संयन्त्र बनाइयोस् ।
४. बजारमा हुने कालोबजारी, कृत्रिम अभाव र कार्टेलिङ रोक्न संयुक्त अनुगमन गरियोस् ।
५. विद्युतीय सवारी र विद्युतीय चुलोको प्रयोगमा विशेष सहुलियत दिई इन्धन निर्भरता घटाइयोस् ।
६. नेपाल आयल निगमको वास्तविक लागत र कर संरचनामा पूर्ण पारदर्शिता कायम गरियोस् ।

प्रतिक्रिया