काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय कुटनीति र परराष्ट्र सम्बन्धमा ’सन्तुलित र गतिशील कूटनीति’ अवलम्बन गर्ने नीति लिने भएको छ ।
राष्ट्रिय मान्यताप्राप्त ६ राजीतिक दलका चुनावी घोषणापत्रको आधारमा सरकारले तयार गरेको ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदामा ’सन्तुलित र गतिशील कूटनीति’ अवलम्बन गरिने उल्लेख छ ।
मस्यौदामा भनिएको छ, ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै बदलिँदो वैश्विक भू–राजनीति र छिमेकी शक्तिहरूको उदयलाई नेपालको विकासको अवसरमा बदल्न ’सन्तुलित र गतिशील कूटनीति’ अवलम्बन गरिनेछ। नेपालका कूटनीतिक नियोगहरूको काम र जिम्मा नियोगको सक्रियता र नतिजा मापन गर्न वैज्ञानिक ’परफरमेन्स अडिट’ प्रणाली सुरु गरिनेछ।’
त्यस्तै नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै नेपाललाई ‘बफर स्टेट’ बाट ‘भाइब्रेन्ट ब्रिज’को रुपमा रुपान्तरण गर्ने उल्लेख छ ।
मस्यौदामा भनिएको छ, ‘नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै नेपाललाई ’बफर स्टेट’ बाट ’भाइब्रेन्ट ब्रिज’ को रूपमा रूपान्तरण गरी त्रिपक्षीय आर्थिक साझेदारी र कनेक्टिभिटीका माध्यमबाट राष्ट्रिय हित सुनिश्चित गरी नेपाललाई स्वतन्त्र, तटस्थ र विश्वशान्तिमा आधारित असंलग्न राष्ट्रको रुपमा विश्वमञ्चमा स्थापित गरिनेछ । कुनैपनि सैन्य गठजोड, हातहतियारको दौड र युद्धले शान्तिलाई वाधा पुर्याउँदछ भन्ने मान्यता सहित सबैसँग समदुरी र समनिकटताको नीति अवलम्बन गरिनेछ । सम्पूर्ण कुटनीतिको केन्द्रमा “नेपाल प्रथमः नेपाली प्रथम“ को अवधारणा आत्मसाथ गरिनेछ। आर्थिक कुटनीतिलाई बढावा दिनुका साथै सगरमाथा सम्वाद जस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।’
त्यस्तै वैदेशिक रोजगारमा रहेका नेपाली कामदारको हकहित, सुरक्षा र सामाजिक सुरक्षाको लागि अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरिने उल्लेख छ ।
मस्यौदामा भनिएको छ, ‘जलवायु परिवर्तन, हिमालयको संरक्षण, पर्वतीय मुद्धा र भूपरिवेष्ठत राष्ट्रका साझा हितमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज सशक्त रुपमा उठाइनेछ। वैदेशिक रोजगारमा रहेका नेपाली कामदारको हकहित, सुरक्षा र सामाजिक सुरक्षाको लागि अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरिनेछ ।’

प्रतिक्रिया