रौतहट । जिल्लाको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग गरिँदै आइएको छ। यहाँका ग्रामीण भेगका नागरिकले हिजोआज खाना पकाउनका लागि परम्परागत चुलोमा गुइँठाको प्रयोग गर्दै आएका छन्। ग्रामीण क्षेत्रका आर्थिक अवस्था कमजोर भएका, विपन्न तथा दलित परिवारले परम्परागत चुलोको प्रयोग गर्दै आएका हुन्।
खाना पकाउने ग्यास अभाव तथा चर्को मूल्य पर्ने भएपछि चुलोमा गुइँठा (गोबरबाट बनेको) प्रयोग गर्दै आइएको स्थानीय बताउँछन्। वनजङ्गल मासिँदै जाँदा दाउराको अभाव भएपछि गाईभैँसीको गोबरबाट बनेका गुइँठालाई खाना बनाउन दैनिक रूपमा प्रयोग गर्दै आएको बृन्दावन नगरपालिका-१ का अदित्यकुमार रजकले बताए।
आर्थिक अवस्था कमजोर भएका परिवारले महँगोमा ग्यास किनेर प्रयोग गर्न नसक्ने र यसलाई ल्याउन पनि टाढा जानुपर्ने भएकाले आफूहरूले गाईवस्तुको गोबरबाट गुइँठा बनाएर प्रयोग गर्ने गरेको उनको भनाइ छ।
गुइँठाको आगोले खाना छिटो पाक्ने र धुँवा पनि कम निस्किने भएकाले तराई-मधेसका ग्रामीण क्षेत्रमा यसको प्रयोग बढी मात्रा हुने बृन्दावन नगरपालिका–३ का प्रमोद यादवले बताए। गोबरमा भुस, पराल, मकैको ठठेरोलगायत वस्तु राखेर गोबरलाई सुकाएर गुइँठा तयार पारिने जानकारी दिँदै उनले पछिल्लो समय भान्छामा यसको प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको बताए।
दाउरा अभाव बढ्दै जाँदा यहाँका स्थानीय बासिन्दाले गुइँठालाई भरपर्दो इन्धनका रूपमा पुनः अपनाउन थालिएको यादवको उनको धारणा छ। वनजङ्गल टाढा हुनु, पहिलाजस्तो सहज रूपमा दाउरा उपलब्ध नहुनु, बढ्दो इन्धन सङ्कटलगायत कारणले गुइँठा प्रयोग गर्नेको सङ्ख्या बढिरहेको उनको बुझाइ छ।
विशेषगरी दाउरा अभाव भएका क्षेत्रमा स्थानीयले गुइँठाभित्र सानो बास वा अन्य काठ राखेर बल्ने क्षमतायुक्त ‘गुइँठा दाउरा’ बनाउने र घरघरमै उपलब्ध हुने गाईभैँसीको गोबरबाट तयार गरिने गुइँठा अहिले सस्तो र सहज विकल्पका रूपमा स्थापित हुँदै गएको गढीमाई नगरपालिका-८ का अशोक यादवले बताए।
गुइँठा परम्परागत इन्धनमात्र होइन, अहिलेको सन्दर्भमा व्यावहारिक वैकल्पिक स्रोत पनि भएको बताउँदै यसलाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सकियो भने तराई क्षेत्रमा ग्यास र दाउरामा निर्भरता कम गर्न सकिने यादवको धारणा छ। सरकारले गुइँठालाई दिगो इन्धनका रूपमा विकास गर्न स्पष्ट नीति तथा योजना ल्याउन सके ग्रामीण भेगका लागि यो दीर्घकालीन समस्याको समाधान बन्न सक्ने उनले बताए।
यहाँ केही नगरपालिकाले निःशुल्क ग्याससहित चुलो नागरिकलाई वितरण गरेको भए तापनि सोही नगरपालिकाका नागरिकले समेत गोबरको गुइँठा बनाएर वैकल्पिक ऊर्जाका रूपमा प्रयोग गरिरहेका छन्।
जिल्लाको मौलापुर, फतुवा विजयपुर, कटहरिया, गुजरा, परोहालगायत नगरपालिकाले स्थानीयलाई ग्याससहितको चुलो वितरण गरेको थियो। स्थानीय तह निर्वाचनको घोषणापत्रमा नै घरघरमा ग्यास चुलो प्रदान गरी धुवाँमुक्त गाउँ बनाउने प्रतिबद्धता गरेसँगै निर्वाचित जनप्रतिनिधिले स्थानीयलाई ग्यास चुलो वितरण गरेका थिए।
रौतहटको गौर, इशनाथ, गरुडा, मौलापुर, यमुनामाई, देवाही गोनाही, बृन्दावन, गुजरा, राजपुर र कटहरियालगायत जिल्लाका १८ वटै स्थानीय तहका ग्रामीण भेगका नागरिक ग्यास चुलो थन्क्याएर गोबरको गुइँठा बनाइराखेका छन्।
चन्द्रपुर नगरपालिकाले आफ्नो नगर क्षेत्रमा करिब दुई हजारभन्दा बढी विद्युतीय चुलो वितरण गर्न थालेको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले जानकारी दिएका छन्। चन्द्रपुर नगरपालिकाको १० वटै वडामा प्रतिवडा रु दुई सयको दरले विद्युतीय चुलो वितरण गर्न थालिएकाले आवेदन फारमसमेत सङ्कलन गरिसकेको नगरप्रमुख काफ्लेले जानकारी दिए।

प्रतिक्रिया