काठमाडौँ । नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग गरेको छ । परिषद्ले शनिबार विज्ञप्ति जारी गरी निर्माण सामग्रीमा अत्यधिक मूल्य वृद्धि भएको जनाउँदै आपत्काल घोषणा गर्न माग गरेको हो ।
‘मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, पेट्रोल, मट्टितेललगायत इन्धनजन्य सामग्रीमा पटक–पटक भएको मूल्य वृद्धिले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेका छन्, इन्धन मात्र नभई बिटुमिन, सिमेन्ट, डण्डीलगायत अन्य अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा निरन्तर भइरहेको मूल्य वृद्धि र बजारमा देखिएको अभावले निर्माण व्यवसायीहरू मारमा परेका छन्’, विज्ञप्तिमा भनिएको छ ।
हालको कानुनी व्यवस्थाबाट मूल्य समायोजन हुन नसक्ने देखिएकाले तत्काल ‘मूल्य समायोजनको मार्ग निर्देशिका–२’ जारी गर्नुपर्ने र सबै अवधिका ठेक्काहरूको हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्य वृद्धिको समस्याबाट पीडित सबै तह र तप्काका निर्माण व्यवसायीका समस्या तुरुन्त सम्बोधन गर्नुपर्ने परिषद्को भनाइ छ ।

प्रतिक्रिया