यस्तो छ ‘मालती मंगले’ को टिजर


काठमाडौं । आगामी वैशाख २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘मालती मंगले’को टिजर सार्वजनिक गरिएको छ ।

गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको यस चलचित्रको टिजरले गाउँले परिवेशमा आधारित एउटा रोचक र मार्मिक प्रेमकथाको झल्को दिएको छ ।

केही वर्ष पुरानो ग्रामीण समाजको पृष्ठभूमिमा खिचिएको यस टिजरमा प्रेम, विश्वास र शङ्काका विभिन्न पाटाहरूलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । टिजरमा विजय बराल र वर्षा राउतको भेटदेखि विवाहसम्मको यात्रालाई देखाइएको छ ।

प्रकु पाण्डेयको निर्देशनमा तयार भएको यस चलचित्रलाई रानी फिल्मस्को ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो। चलचित्रको कथा स्वयं निर्देशक पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँको रहेको छ ।