डा. गोविन्दशरण उपाध्याय ।
मानव जीवनको गहिराइ बुझ्ने प्रयास गर्दा दुई फरक देखिने तर अन्ततः एउटै सत्यतर्फ उन्मुख हुने दुई धाराहरू भेटिन्छन्– एकातिर पूर्वीय दर्शनको सौन्दर्यशास्त्र, जहाँ भावनालाई ‘रस’ को रूपमा अनुभव गरिन्छ अर्कोतिर आधुनिक मनोविज्ञान र न्यूरोसाइन्स जहाँ त्यही भावनालाई ‘हर्मोन र न्युरोट्रान्समिटर’ को जैव–रासायनिक प्रक्रियाबाट व्याख्या गरिन्छ। एकले अनुभूतिको भाषा बोल्छ, अर्कोले संरचनाको, एकले आत्माको गहिराइ समात्छ, अर्कोले मस्तिष्कको क्रियाविज्ञान। तर जब यी दुवैलाई एकै दृष्टिबाट नियालिन्छ, तब स्पष्ट हुन्छ – मानव जीवन भाव र रसायनको समन्वित नृत्य हो।
नाट्यशास्त्रमा वर्णित नव रस – शृङ्गार, हास्य, करुण, रौद्र, वीर, भयानक, बीभत्स, अद्भुत र शान्त यी मानव भावनाको पूर्ण वृत्त हुन्। यी केवल नाटक वा साहित्यका लागि सिर्जित सौन्दर्यात्मक वर्गीकरण होइनन्, यी मानव चेतनाको गहिरा स्तरमा घट्ने अनुभूतिहरूको सूक्ष्म नक्सा हुन् । आधुनिक विज्ञानले भने यिनै अनुभूतिहरूको आधारमा काम गर्ने रसायनहरूः डोपामाइन, सेरोटोनिन, अक्सिटोसिन, कोर्टिसोल, एड्रेनालिन, एन्डोर्फिन आदिको खोज गरेको छ । यहाँ प्रश्न उठ्छ – के रस र हर्मोन अलग–अलग सत्य हुन् ? कि एउटै सत्यका दुई आयाम ?
यदि ध्यानपूर्वक विचार गर्ने हो भने प्रत्येक रसको पछाडि कुनै न कुनै हर्मोनिक प्रक्रिया सक्रिय हुन्छ । उदाहरणका लागि, शृङ्गार रस – प्रेम, आकर्षण र सौन्दर्यको अनुभूति – केवल काव्यात्मक अनुभूति होइन यसको जैविक आधारमा डोपामाइन, अक्सिटोसिन र सेरोटोनिन सक्रिय हुन्छन् । डोपामाइनले आकर्षण र चाहना जगाउँछ, अक्सिटोसिनले सम्बन्ध र विश्वास निर्माण गर्छ र सेरोटोनिनले स्थिर सन्तुलन दिन्छ । यही कारणले प्रेम केवल भावनात्मक अनुभव मात्र होइन, शरीर–मन–चेतनाको एकीकृत अवस्था हो । तर यही डोपामाइन असन्तुलित हुँदा प्रेम आसक्ति बन्छ, सम्बन्ध निर्भरता बन्छ र अन्ततः पीडा उत्पन्न हुन्छ । यसरी रस र हर्मोनको सम्बन्ध केवल उत्पत्तिसम्म सीमित छैन, यसको गुणस्तर र दिशा पनि त्यसैले निर्धारण गर्छ ।
हास्य रसको सन्दर्भमा पनि यस्तै सत्य देखिन्छ। हाँसो, रमाइलोपन र हल्कापनका क्षणहरूमा एन्डोर्फिन र डोपामाइन स्राव हुन्छन् । एन्डोर्फिनले पीडा कम गर्छ, डोपामाइनले आनन्दको अनुभूति दिन्छ । यसै कारणले हाँसोलाई प्राकृतिक औषधि भनिन्छ। तर जब मानिस कृत्रिम मनोरञ्जनमा अत्यधिक निर्भर हुन्छ जस्तै अनन्त स्क्रोलिङ, छोटा भिडियोहरू, त्यो डोपामाइनको कृत्रिम उत्तेजनामा फस्न थाल्छ, जसले वास्तविक हास्यको गहिराइ हराउँछ । यहाँ देखिन्छ कि रसको शुद्धता र हर्मोनको सन्तुलनबीच गहिरो सम्बन्ध छ ।
करुण रस दुःख, दया र सहानुभूतिको अनुभूति र मानवताको आधार हो । आधुनिक मनोविज्ञानले देखाउँछ कि करुणाको क्षणमा अक्सिटोसिन सक्रिय हुन्छ, जसले सहानुभूति र सामाजिक बन्धनलाई बलियो बनाउँछ । तर दीर्घकालीन दुःख र निराशामा सेरोटोनिनको स्तर घट्छ, जसले अवसाद निम्त्याउन सक्छ । यसरी करुण रस एकै समयमा उपचार र जोखिम दुवै हुन सक्छ । सचेत रूपमा जिउँदा यसले मानवतालाई उचाइमा पुर्याउँछ, असन्तुलित रूपमा उपयोग गर्दा यसले मानसिक रोगतर्फ डोर्याउँछ।
रौद्र रस अर्थात् क्रोध र आक्रोशको सम्बन्ध मानव अस्तित्वको रक्षा प्रणालीसँग जोडिएको छ। जब अन्याय हुन्छ, तब रौद्र उत्पन्न हुन्छ, र एड्रेनालिन तथा कोर्टिसोल स्राव हुन्छ, जसले शरीरलाई ‘लड वा भाग’ fight or flight) को अवस्थातर्फ लैजान्छ। यो प्राकृतिक र आवश्यक प्रतिक्रिया हो। तर जब रौद्ररस जीवनको स्थायी अंग बन्छ कोर्टिसोलको स्तर उकालिन्छ जसले शरीर र मनलाई थकित बनाउँछ । यही कारणले दीर्घकालीन क्रोधले मानसिक र शारीरिक रोग निम्त्याउँछ। पूर्वीय दर्शनले क्रोधलाई नियन्त्रण गर्न ध्यान, संयम र विवेकको मार्ग देखाएको छ । आधुनिक विज्ञानको दृष्टिमा कोर्टिसोल घटाउने अभ्यास हो ।
भरत नाट्यम्को वीर रस साहस, उत्साह र आत्मविश्वास हो र मानव विकासको प्रेरक शक्ति हो । यहाँ डोपामाइन र टेस्टोस्टेरोनको भूमिका महत्वपूर्ण हुन्छ । डोपामाइनले लक्ष्यतर्फ अघि बढ्ने प्रेरणा दिन्छ, टेस्टोस्टेरोनले जोखिम लिन र चुनौती सामना गर्न शक्ति दिन्छ । तर जब यो असन्तुलित हुन्छ तब अहंकार र आक्रामकता बढ्न सक्छ । यसैले वीर रसको शुद्धता विवेकसँग जोडिएको छ जहाँ साहस सेवा बन्छ, शक्ति संरक्षण बन्छ।
भयानक रस जीवन रक्षा गर्ने अर्को आधारभूत भावना हो। कोर्टिसोल र एड्रेनालिनको सक्रियताले शरीरलाई खतराबाट जोगाउन तयार बनाउँछ । तर आधुनिक जीवनमा वास्तविक खतरा भन्दा मानसिक कल्पनाले बढी डर सिर्जना गर्छ, जसले स्थायी चिन्ता (anxiety) को रूप लिन्छ। यहाँ देखिन्छ कि भयानक रसको जैविक आधार आवश्यक भए पनि यसको मनोवैज्ञानिक व्यवस्थापन अपरिहार्य छ ।
बीभत्स रस अर्थात् घृणा मानवजातिलाई हानिकारक वस्तुबाट टाढा राख्ने प्राकृतिक संयन्त्र हो। मस्तिष्कको इन्सुला भाग सक्रिय भएर यस्तो प्रतिक्रिया दिन्छ। तर जब यो अत्यधिक हुन्छ, तब सामाजिक विभाजन, घृणा र असहिष्णुता बढ्छ । यसैले बीभत्स रसको सन्तुलन सामाजिक समरसताका लागि आवश्यक हुन्छ।
अद्भुत रस अर्थात् विस्मय र जिज्ञासा ज्ञान र आविष्कारको मूलाधार हो। यहाँ डोपामाइन पुनः सक्रिय हुन्छ, जसले नयाँ कुरा सिक्न प्रेरित गर्छ । वैज्ञानिक अनुसन्धान, दर्शन, कला यी सबै अद्भुत रसबाट जन्मिन्छन् । तर जब जिज्ञासा सतही उत्तेजनामा सीमित हुन्छ, तब ज्ञानको गहिराइ हराउँछ। आधुनिक डिजिटल युगमा यही समस्या देखिन्छ । अद्भुत रसको सतही उपभोग, गहिरो अनुभूतिको अभावमा रसको अनुभूति हुँदैन ।
नवौं शान्त रस समत्व, स्थिरता र आन्तरिक आनन्द यी सबै रसहरूको परिपूर्ण अवस्था हो । आधुनिक विज्ञानले यसलाई सेरोटोनिन, GABA र न्यून कोर्टिसोलको सन्तुलनसँग जोड्छ। ध्यान, योग, प्रार्थना—यी सबै अभ्यासहरूले यही अवस्था उत्पन्न गर्छन्। पूर्वीय दर्शनले यसलाई मोक्ष, समाधि वा आत्मबोधको अवस्था भन्छ । यहाँ डोपामाइनको चञ्चलता शान्त हुन्छ, कोर्टिसोलको तनाव विलीन हुन्छ, र चेतना स्थिर आनन्दमा स्थापित हुन्छ।
यस सम्पूर्ण विश्लेषणबाट एउटा गहिरो सत्य प्रकट हुन्छ कि नवरस र हर्मोनहरू अलगअलग होइनन्, तिनीहरू एउटै मानव अनुभवका दुई तह हुन् । रस अनुभूतिको भाषा हो, हर्मोन प्रक्रियाको। रसले ‘के महसुस हुन्छ’ भन्छ, हर्मोनले “किन हुन्छ” भन्छ । जब यी दुवैलाई समन्वय गरिन्छ, तब मानव जीवनको समग्र चेतना विकसित हुन्छ ।
व्यवहारिक दृष्टिले विचार गर्दा नवरस र हर्मोनहरूको जैविक प्रभावको ज्ञान अत्यन्त उपयोगी छ । परामर्श मनोविज्ञानमा यदि कुनै व्यक्तिमा अत्यधिक डर छ भने, त्यसलाई केवल विचार परिवर्तन गरेर मात्र होइन, शरीरको कोर्टिसोल स्तर घटाउने अभ्यास जस्तै श्वास–प्रश्वास, ध्यान मार्फत पनि उपचार गर्न सकिन्छ । यदि कसैमा प्रेरणा कमी छ भने, डोपामाइनलाई प्राकृतिक रूपमा सक्रिय गर्ने गतिविधिजस्तै लक्ष्य निर्धारण, शारीरिक व्यायामआदिको प्रयोग गर्न सकिन्छ । यदि सम्बन्धमा समस्या छ भने, अक्सिटोसिन बढाउने व्यवहार जस्तै विश्वास, संवाद, स्पर्शआदि काम महत्वपूर्ण हुन्छन्। यसरी नवरसको समझ र हर्मोनको ज्ञान मिलाएर एक समग्र उपचार पद्धति विकास गर्न सकिन्छ।
यसैले निष्कर्ष स्पष्ट छ–मानव जीवनको उद्देश्य कुनै एक रसमा अड्किनु होइन, सबै रसहरूको अनुभव गर्दै अन्ततः शान्त रसमा स्थापित हुनु हो। आधुनिक विज्ञानले पनि यही कुरा अर्को भाषामा भन्छ : सन्तुलित न्यूरो–केमिस्ट्री नै मानसिक स्वास्थ्य हो । सत्य के हो भने नवरस अनुभूतिको संसार हो जहाँ न्युरोट्रान्समिटरहरूको जैवकीय प्रभाव प्रष्टरूपमा प्रकट भइरहेको हुन्छ । फरक एत्ति हो आधुनिक विज्ञानले नवरस र त्यसको प्रकटीकरणलाई हर्मनका रूपमा बुझ्नेको छ भने प्राचीन वैदिक ऋषिहरूले नवरस भनेर यी रसहरूको प्रभावका विषयमा अनुभूति गरे । दूवैको लक्ष जीवन कल्याण नै हो ।

प्रतिक्रिया