इरानमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएका नागरिकको सङ्ख्या सरकारले दाबी गरेकोभन्दा झन्डै तीन गुणा बढी भएको बीबीसी पर्सियन भाषा सेवाले पत्ता लगाएको छ ।
इरानको स्वास्थ्य मन्त्रालयले जुलाई २० सम्म १४ हजार ४०५ जनाको कोभिड १९ का कारण मृत्यु भएको बताए पनि सरकारी दस्तावेजमा त्यो सङ्ख्या झन्डै ४२ हजार भएको देखिएको छ । सङ्क्रमितको सङ्ख्या पनि मन्त्रालयले भनेको २ लाख ७८ हजार ८२७ नभई ४ लाख ५१ हजार २४ भएको देखिएको छ ।
इरान कोरोनाभाइरसको प्रकोप चर्को भएको देश हो र हालैका साताहरूमा त्यहाँ सङ्क्रमण उच्च देखिएको छ । बीबीसीलाई उपलब्ध गराइएको सरकारी स्वास्थ्य तथ्याङ्कका दस्तावेजमा त्यहाँ पहिलो मृत्यु जनवरी २२ मा भएको देखिन्छ जुन इरानले पहिलो सङ्क्रमण भएको जनाएको मितिभन्दा एक महिना अगाडि हो । इरानको आधिकारिक तथ्याङ्कमा धेरैले शङ्का गरेका थिए ।
राष्ट्रिय र प्रान्तीय तथ्याङ्कमा देखिएको फरक र केही स्थानीय स्वास्थ्य अधिकारीहरूको भनाइका आधारमा त्यहाँ सङ्क्रमणको अवस्थाबारे फरक तथ्याङ्क दिने प्रयास गर्नेहरू पनि थिए । संसारभरि नै कम परीक्षणका कारण कोभिड(१९ को कम तथ्याङ्क उपलब्ध हुने मानिए पनि इरानले उपलब्ध भएकै तथ्याङ्कहरू पनि सार्वजनिक नगरेको देखिएको छ ।
प्राप्त भएका विवरणमा इरानभरि अस्पतालमा दैनिक बिरामी भर्ना, बिरामीको नाम, उमेर, लिङ्ग, लक्षण, मिति र अस्पताल बसाइको जानकारीहरूको तथ्याङ्क छ । इरानभर मृत्यु भएका १ हजार ९ सय १२ जना विदेशी रहेका छन् । तीमध्ये धेरै अफगानिस्तानबाट आएका शरणार्थीहरू रहेका छन्।

प्रतिक्रिया