काठमाडौँ । नेपाली कांग्रेसले एक महिने ‘जरा अभियान’का लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
१५औँ महाधिवेशनको तयारीसँगै सुदृढीकरणका लागि केन्द्रीय प्रतिनिधि खटाइएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् कांग्रेसले कुनै जिल्लामा दुई जनालाई केन्द्रीय प्रतिनिधि खटाएको छ ।
वैशाख १ गतेदेखि एक महिने जरा अभियान संचालन गर्ने र त्यस अन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक गर्ने, पार्टीको सांगठनिक गतिविधिको विश्लेषण गर्ने, जनतासँग, युवाहरुसँग र पार्टी बाहिरका शुभेच्छुकहरुसँग निर्वाचनको समीक्षात्मक कार्यक्रम गर्ने, सामाजिक र सिर्जनात्मक अभियान संचालन गर्ने तथा स्थानीय सरकार संचालन र आगामी बजेट निर्माणसँग सम्बन्धित मार्ग निर्देशन एवं सहजीकरण गर्नु जरा अभियानको उद्देश्य रहेको कांग्रेसले जनाएको छ ।
त्यसैगरी जिल्लामार्फत ६,७४३ वटै वडाहरुमा प्रतिनिधिहरु खटाइनेछ र वैशाख १ देखि वैशाख मसान्तसम्म एक महिनाको अवधिमा सदस्यता अद्यावधिक गरिनेछ ।
वैशाख महिनाभित्रमा केन्द्रदेखि प्रत्येक तहका पार्टी सदस्य आफ्नो सम्बन्धित वडामा स्वयं उपस्थित भई आफ्नो सदस्यता अद्यावधिक गर्नु पर्नेछ । यसरी सदस्यता अद्यावधिक गरिएका सदस्यहरुले मात्र कांग्रेस आइडी प्राप्त गर्ने र १५ औं महाधिवेशनमा भाग लिन पाउने कांग्रेसले जनाएको छ ।






प्रतिक्रिया