१७ करोड भन्दा बढीको क्रिप्टो कारोबारको अभियोगमा चिनियाँ नागरिक पक्राउ


काठमाडौँ । प्रहरीले १७ करोड ७९ लाख रुपैयाँ भन्दा बढी बराबरको अभौतिक मुद्रा क्रिप्टो करेन्सीको कारोबार गर्ने चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विभिन्न सामाजिक सञ्जालबाट नेपाली नागरिकहरूसँग कुराकानी गरी विभिन्न किसिमका प्रलोभन देखाई ठगी गरेको आरोपमा चिनियाँ नागरिक ३५ वर्षीय झु यी फेनलाई पक्राउ गरेको हो । उनलाई बिहीबार ठमेलबाट पक्राउ गरेको परिसरले जनाएको छ ।

उनले १७ करोड ७९ लाख सत्तरी हजार तीन सय एकहत्तर रुपैयाँ तेइस पैसा बराबरको अभौतिक मुद्रा क्रिप्टो करेन्सीको कारोबार गरेको पाइएको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिएका छन् । उनको साथबाट प्रहरीले तीन थान मोबाइल र इन्टरनेशनल एक्स्प्रेस लेखिएको रकम पठाउन प्रयोग गरिने कागजातहरू बरामद गरेको छ ।

उनलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।