कर्णाली राजमार्गमा वर्षौँदेखि अलपत्र १० ठेक्का एकसाथ तोडियो


जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र १० वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोडेको छ ।

सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीको ठेक्का अन्त्य गरिएको सम्बन्धी १५ दिने सार्वजनिक सूचना निकालिएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहले बताए ।

कर्णाली राजमार्गअन्तर्गतका कालीकोट जिल्लाको दहीखोला मान्म–नाग्म जुम्ला खण्डमा शाखा सडकमा सडक सुरक्षा कार्यहरू व्यवस्थापन र जुम्लाको कुडारीदेखि कालीकोटसम्म सडकको कल्भर्ट निर्माण र संरक्षण कार्यहरूसहित विशिष्ट मर्मतकार्य गर्नका लागि आव २०७८/७९ धुर्वा निर्माण सेवा सुर्खेतसँग सम्झौता भई उल्लेखित मितिमा निर्माण सम्पन्न गर्नुपर्नेमा सो हुन नसकी पटकपटक म्याद थप गरिएको र थपिएको म्याद पनि समाप्त भइसकेकाले ठेक्का तोडिएको हो ।

त्यसैगरी, कर्णाली राजमार्ग सडकखण्डअन्तर्गतको कालीकोटको बालीघाट नजिकै विशेष मर्मतकार्य र खुल्लालेदेखि घोडेङ्गासम्म आवधिक मर्मतसम्भार कार्य आव २०७९/८० मा कृष्ण निर्माण सेवासँग सम्झौता भए पनि तोकिएको समयमै निर्माण कम्पनीले काम गर्ने नसकेकाले ठेक्का तोडिएको छ ।

२०७९/८० मा अविनास निर्माण सेवासँग नाग्म–गमगडी सडकखण्डको मुगुको ताल्चादेखि रारासम्म सडकको विशिष्ट मर्मतकार्यको सम्झौता भएको थियो । सडक सुधारको काम तुमदेखि लामाचौर सडक राराको प्रतक्की मार्ग च्यनाथ रारा संरचना फराकिलो र फुटपाथको काम विनाम्रा निर्माण सेवा सुर्खेतसँग आव २०८०/८१ मा भएको सम्झौताअनुसार काम नभएपछि पटकपटक ताकेता गरेको र धेरैपटक भन्दा पनि काम नभएपछि ठेक्का तोड्ने प्रक्रियाअघि बढेको सिंहले बताए ।

यसअघि कर्णाली राजमार्गका चारवटा रुग्ण अवस्थामा रहेका ठेक्का सडक डिभिजन कार्यालयको आफ्नो कार्यक्षेत्रभित्र पर्ने कालीकोटका दुई, मुगुको नाग्म–गमगडी सडकखण्डको एक र जुम्ला डोल्पा हुँदै मनाङ–मुस्ताङ जोड्ने सडक गरी चारवटा ठेक्का तोडिएको सडक डिभिजन कार्यालयका निमित्त डिभिजन प्रमुख श्रवणकुमार महताराले बताए ।

निर्माण व्यवसायीलाई लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न पटकपटक अनुरोध गर्दा पनि निर्माण कम्पनीले ठेक्का सम्झौताको शर्तहरूबमोजिम आफ्नो करारीय दायित्व पूरा नगरेको हुँदा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(२) अनुसार ठेक्का अन्त्य गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।