रास्वपाको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभाग सक्रिय


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागको बैठक मंगलबार पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । विभाग प्रमुख तथा सांसद श्रीराम न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले ऊर्जा क्षेत्रसँग सम्बन्धित विभिन्न रणनीतिक निर्णयहरू सर्वसम्मत रूपमा पारित गरेको छ ।

बैठकले हालै नियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ । विभागले मन्त्री श्रेष्ठको नेतृत्वमा ऊर्जा क्षेत्रको सुधार, पारदर्शिता र दीगो विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

त्यसैगरी बैठकले विभागद्वारा तयार गरिएको ऊर्जा नीतिलाई आधार मानी पार्टीको वाचा पत्रअनुसार समग्र ऊर्जा तथा जलस्रोत नीति निर्माण प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको छ । देशको ऊर्जा सुरक्षालाई सुदृढ बनाउँदै उत्पादन, प्रसारण र वितरण प्रणालीमा सुधार ल्याउने लक्ष्यसहित विभागले सक्रिय भूमिका निर्वाह गर्ने स्पष्ट संकेत दिएको छ ।

विभागलाई पूर्णता दिन ऊर्जा क्षेत्रका योग्य, क्षमतावान तथा इच्छुक व्यक्तिहरूको विवरण संकलन गरी पार्टीको आवश्यक प्रक्रिया अनुरूप छनौट गर्ने निर्णय समेत गरिएको छ । यस कदमले विभागको संस्थागत क्षमता अभिवृद्धि गर्दै नीति–निर्माण र कार्यान्वयनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

बैठकमा विभागका सल्लाहकारहरू पूर्व सचिवद्वय देवेन्द्र कार्की र मधु भेटवाल तथा सदस्यहरू अम्बिकेश झा र सुमन कुमारी जोशीको उपस्थिति रहेको थियो ।