आलोचना मात्र होइन, सरकारको सही दिशामा भएका प्रयासलाई समर्थन गर्नुपर्छ


रञ्जनकुमार दाहाल

नेपाली जनताले अति धेरै बहुमत दिएर देश चलाउन पठाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठन गर्नु अघि नै गहिरो तयारी गरेको देखिन्छ । लामो समयसम्म हामी नेपाली नागरिकहरू भ्रष्ट राजनीतिज्ञहरूको व्यवहारलाई चाहे मन परोस् या नपरोस्, स्वीकार गर्न बाध्य भयौं । राजनीतिक दलहरूले गरेका कमजोरी, बेथिति र अनियमिततालाई पनि “यस्तै हो” भन्दै सहनु पर्ने अवस्था बन्यो। यसले हाम्रो सोच र अपेक्षालाई नै बिलिन बनायो।

आजको दिनमा बालेन सरकारले यति छिटो काम गर्दैछ कि कसैले भेउ नै पाएनन् । कोही भन्दैछन् हतार भयो ! हामीलाई हाम्रो सरकारले कसरी काम गर्नुपर्छ भन्ने समेत सम्झना छैन । पुराना नेपाल सरकारले हामीलाई एकोहोरो वा हिपटोनाईज नै पारेको रहेछ ।

तर अहिलेको अवस्था फरक छ । नयाँ सरकारका कदमहरू धेरैका लागि अप्रत्याशित र असहज लागिरहेका छन्, किनकी हामी पुरानो प्रणालीमा अभ्यस्त भइसकेका थियौं । हामीले अस्वीकार्य कुरा पनि स्वीकार गर्ने बानी बनायौं, तर हाम्रो नयाँ पुस्ताले त्यो स्वीकार गरेन। भ्रष्टाचाररहित शासनको माग गर्ने धेरै युवाहरूले आफ्नो आवाज उठाए, तर कतिपयले त्यसको मूल्य जीवन दिएर चुकाउनुपर्यो । यस्तो घटना कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन।

हामीहरुलाई सरकारका कतिपय निर्णयहरु वास्तवमै ऐतिहासिक र कठोर लाग्नेछ । यसले धेरैलाई असहज बनाउने निश्चित छ, तर यदि पारदर्शिता र न्यायका आधारमा कार्यान्वयन भयो भने देशको राजनीतिक संस्कार परिवर्तन गर्ने ठूलो अवसर पनि यही हो । हामीले बुझ्नुपर्छ कि सेप्टेम्बर २०२५ भन्दा अघि यस्ता कदमहरू कल्पना गर्न पनि कठिन थियो। तर आजको परिवर्तन सहजै आएको होइन, यसका लागि १९ जना युवाहरूले आफ्नो जीवन बलिदान दिएका छन् भन्ने कुरा हामीले बिर्सनु हुँदैन।
अब चुनौती सरकारको कार्यान्वयनमा छ, के उनीहरूले निष्पक्ष, पारदर्शी र प्रभावकारी रूपमा यो प्रक्रिया अगाडि बढाउन सक्छन् ? यही नै मुख्य प्रश्न हो। प्रहरी प्रसासनमा त यस्तो सरकारी निर्णयमा कसरी काम गर्ने कुराको अन्यौल पक्कै भएको हुनुपर्छ । सरकारको काम भन्ने चलन नै हराइसकेको थियो । सबैलाई नेता को काम गर्नुपर्ने बाध्यता थियो ।

यस अवस्थामा हामी आम नागरिकको भूमिका पनि महत्वपूर्ण छ। आलोचना मात्र होइन, सरकारको सही दिशामा भएका प्रयासलाई समर्थन गर्नु आवश्यक छ। हामी आफ्ना सन्तानको भविष्यको सोचौ र “नेपाली जनता मात्र भएर होइन, जिम्मेवार नेपाली नागरिक” बन्ने समय आएको प्रष्टसित बुझौं ।