भोजपुर । भोजपुरका ग्रामीण भेगका किसान यतिबेला चैतेधान रोप्नमा व्यस्त छन् । हिउँदयाम सकिएसँगै तापक्रम बढ्न थालेपछि किसानहरू धान रोपाइँमा जुटेका हुन् ।
जिल्लाका हतुवागढी, अरुण, षडानन्द नगरपालिकालगायतका स्थानीय तहमा रहेका सिँचाइ सुविधा भएका फाँटमा अहिले रोपाइँको चटारो देखिएको छ । समयमै रोपाइँ गर्न सके उत्पादन राम्रो हुने विश्वासका साथ किसान बिहानदेखि बेलुकासम्म खेतमा खटिएका छन् । हतुवागढी गाउँपालिका–२ का जयबहादुर थापाका अनुसार चैतेधान बाली छोटो अवधिमा पाक्ने भएकाले यसबाट वर्षे धानभन्दा छिट्टै आम्दानी लिन सकिन्छ । यसले घरायसी उपभोगसँगै अतिरिक्त आम्दानीको स्रोतसमेत बढाएको उनको भनाइ छ ।
कावाखोला किनार क्षेत्रका राजा–१२, बिजी र तौली जातका हिउँदे धानको खेतीसमेत यहाँ हुँदै आएको थापाले जानकारी दिए । फागुन अन्तिमदेखि चैतको अन्तिमसम्म हिउँदे धान रोप्ने चलन रहेको उनी बताउँछन् । आफूले बर्सेनि ४५ देखि ५० मुरीसम्म हिउँदे धान उत्पादन गर्दै आएको उनले बताए ।
“हामी यो समयमा चैते धान रोप्नमा व्यस्त छौँ”, उनले भने, “यतिबेला रोपेको धान असार अन्तिमदेखि साउनको पहिलो सातासम्म भण्डारणयोग्य हुन्छ, त्यसपछि पुन: अर्को बाली लगाउँछौँ ।”
यद्यपि पर्याप्त सिँचाइको अभाव, मलखादको कमी र श्रमिक अभावका कारण समस्या देखिएको किसानको गुनासो छ । सिँचाइ सुविधा नपुगेका क्षेत्रमा भने रोपाइँ ढिला हुने अवस्था छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा करिब १२ हजार १५४ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लामा यस वर्ष ३६ हजार ९९८ मेट्रिक टन धान उत्पादन भएको छ ।

प्रतिक्रिया