ढोरपाटनमा दोस्रो यामको सिकार सुरु


बागलुङ। नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको सिकार सुरु भएको छ । ढोरपाटन सिकार आरक्षमा दोस्रो याममा १४ नाउर र १० झारलको सिकार अनुमति दिइएको हो ।

दोस्रो सिकार यामका रूपमा मानिएको फागुनदेखि वैशाखसम्म सिकार खेल्न केही सिकारी ढोरपाटनमा व्यस्त छन् भने केही विदेशी सिकारी नेपाल आउने तयारीमा रहेका ढोरपाटन सिकार आरक्षका रेञ्जर सागर सुवेदीले जानकारी दिए । उनका अनुसार यस वर्षको दोस्रो याममा १३ बनेलकोसमेत सिकार गर्न अनुमति दिइएको छ ।

ढोरपाटन आरक्षले विभिन्न सिकार ब्लकमा वन्यजन्तु विभागको अनुमतिमा सिकार गर्न दिइएकोमा अहिले ग्लोबल सफारी प्रालिमार्फत आएका अमेरिकी नागरिकले एक नाउर र एक झारल सिकार खेलेर फर्किएका जनाउँदै रेञ्जर सुवेदीले हिमालयन सफारी नेपालमार्फत आएका अमेरिकन र डेनिस नागरिक ढोरपाटन क्षेत्रमा सिकार खेल्न व्यस्त रहेका बताए ।

“विदेशी सिकारीले नाउर र झारलको सिकारका लागि प्रतिस्पर्धाका आधारमा राजश्व बुझाएर अनुमति लिन्छन् । दोस्रो यामको सिकार चलिरहेकाले आरक्षका कर्मचारी र नेपाली सेना सिकार ब्लकमा सिकारीसँग आवश्यक सामग्री व्यवस्थापनमा व्यस्त छन्”, रेञ्जर सुवेदीले भने । उनका अनुसार दोस्रो याममा हिमालयन वाइल्डलाइफ आउट फिटरमार्फत डेनिस नागरिकले एक नाउर, एक झारल र एक बनेल सिकार खेल्न अनुमति पाएका छन् ।

यस्तै ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक प्रालिमार्फत अमेरिका, बेल्जियम र फ्रान्सका नागरिकले सुनदह र सेङ ब्लकमा तीन नाउर, दुई झारल र एक बनेल सिकारको अनुमति पाएका छन् । नेपाल ट्राभल एक्पेडिसन प्रालिमार्फत घुस्तुङ ब्लकमा तीन नाउर, तीन झारल र तीन बनेल सिकार खेल्न रसियन, अफ्रिकन र फ्रान्सका नागरिकले सिकार खेल्ने अनुमति पाएसँगै तयारीसहित नेपाल आउन लागेका रेञ्जर सुवेदीले जानकारी दिए ।

त्यस्तै ग्लोबल सफारिज प्रालिमार्फत सुनदह र दोगाडी ब्लकमा अमेरिका, डेनिस नागरिकले चार नाउर, दुई झारल र चार बनेलको सिकार गर्न अनुमति पाएका छन् भने हिमालयन सफारिज नेपाल प्रालिमार्फत अमेरिकी नागरिकले दुई नाउर, एक झारल र दुई बनेल सिकारको अनुमति पाएकामा एक नाउर र एक झारलको सिकार भइसकेको छ ।

ट्रेक एण्ड देलर्स प्रालिमार्फत स्पेनी नागरिकले एक झारल, एक नाउर र एक बनेल सिकारको अनुमति पाएका सुवेदीले उल्लेख गरे । उनका अनुसार चालु आर्थिक वर्षको पहिलो सिकारयाममा रु तीन करोड तीन लाख राजस्व संकलन भएकामा दोस्रो सिकारयामका लागि सिकारी आउनेक्रम जारी रहेकाले राजस्व संकलनको काम भइरहेको छ ।

रेञ्जर सुवेदीले भने, “१४ नाउर, १० झारल र १३ बनेलको सिकार खेल्न विभागले अनुमति दिएकामा अहिलेसम्म एक नाउर र एक झारलको सिकार भइसकेको छ । अन्य केही सिकारी सिकार खेल्न व्यस्त छन् भने केही सिकारी नेपाल आउने क्रममा छन् ।”

पहिलो सिकार याममा एउटै नाउरबाट रु १९ लाख र झारलबाट १८ लाखसम्म राजस्व संकलन भएको जनाउँदै उनले दोस्रो यामका लागि कम मूल्यमा सिकार अनुमति दिइए पनि सिकारी आउनेक्रम जारी रहेकाले सिकारयाम सकिएपछि मात्रै राजस्व संकलनको वास्तविक विवरण आउने बताए ।

सिकारी बन्दोबस्तीका सामग्रीसहित गत फागुन दोस्रो सातादेखि नेपाल आउन थालेका छन् । विदेशी सिकारी हेलिकप्टरमार्फत सोझै सिकार ब्लकमा पुग्ने गरेका छन् । सिकार खेल्ने क्रममा नेपाली सहयोगीसहित आरक्षका कर्मचारी पनि विदेशी सिकारीसँग खटिने गरेका रेञ्जर सुवेदीले बताए । उनका अनुसार विभागले हरेक वर्ष नाउर र झारलको सिकारका लागि कोटा निर्धारण गरी अनुमति दिने गर्दछ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार वर्षको पहिलो सिकारयाम असोज–मङ्सिर र दोस्रो सिकारयाम फागुन–वैशाख गरी दुई चरणमा सिकार हुँदै आएको छ । “विदेशी सिकारीसहितको समूहले १५ दिनभित्र तोकिएको ब्लकमा सिकार खेलिसक्नुपर्ने हुन्छ । जंगलमा बास बस्ने सिकारीले आरक्ष प्रवेश गरेपछि निर्धारित समयमा मात्रै सिकार खेल्न पाउँछन् । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बन्दै आएको छ”, उनले भने ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकारयाममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्दछ । नाउर र झारलको मूल्य, ब्लकको अग्रिम भुक्तानी, अनुपति (लाइसेन्स), हेलिकप्टरलगायत बन्दोबस्तीको सामग्री तयार गर्दा एक जना सिकारीको करिब रु ३० देखि रु ३५ लाखसम्म खर्च हुने गरेको रेञ्जर सुवेदीले जानकारी दिए ।

विदेशी तथा आर्थिक अवस्था सबल भएकाको रोजाइमा मात्रै पर्दै आएको सिकार खेल्ने अवसर नेपालीले भने पाएका छैनन् । सिकार आरक्षको सुरक्षा विसं २०७३ देखि नेपाली सेनाले गर्दै आएको छ । विंस २०४४ मा स्थापना भएको सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ भने यसको मुख्य कार्यालय बागलुङको ढोरपाटन उपत्यकामा पर्दछ ।