कैलाली । महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२–८३ को फागुन मसान्तसम्म १२ करोड ३० लाख ७४ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा १० करोड ६४ लाख ४ सय ३३ रुपैयाँ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली भएको हो ।
भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायले बाँकी चार महिनामा १४ प्रतिशत राजस्व सङ्कलन लक्ष्य पूरा गर्न चुनौतीपूर्ण रहे पनि कार्यालयले प्रयास गरिरहेको बताए ।
चालु आवको साउनमा एक करोड ६४ हजार ५ सय ९७ रुपैयाँ, भदौमा एक करोड ५९ लाख ११ हजार ५ सय ४२ रुपैयाँ, असोजमा एक करोड ९१ लाख ९ सय ५३ रुपैयाँ, कात्तिकमा ८७ लाख २५ हजार २ सय ९७ रुपैयाँ, पुसमा एक करोड २३ लाख ९८ हजार ६ सय ३६ रुपैयाँ र फागुनमा एक करोड ३९ लाख ४५ हजार ५ सय ८४ रुपैयाँ राजस्व असुली भएको उनले जानकारी दिए ।
यसैगरी मङ्सिर महिनामा एक करोड ८३ लाख ३२ हजार ६ सय ८३, माघमा एक करोड ६९ लाख ३० हजार १ सय ४१ रुपैयाँ अर्थात् लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

प्रतिक्रिया