रोयटर्स । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले मध्यपूर्वमा थप हजारौं सैनिक पठाउने तयारी गरेको छ । अमेरिकी सेनाको प्रतिष्ठित ८२ औं एयरवर्न डिभिडजनअन्तर्गतका सैनिकहरू पठाउने योजना बनाइएको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्भावित वार्तामार्फत युद्ध अन्त्य गर्ने संकेत दिइरहेका बेला यो निर्णयले क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति अझ विस्तार हुने देखिएको छ ।
स्रोतका अनुसार ३,००० देखि ४,००० सैनिक पठाउने तयारी भइरहेको छ। ती सैनिकहरू हाल फर्ट ब्रयाग, नर्थ क्यारोलिनामा तैनाथ छन्। उनीहरूलाई कहाँ र कहिले पठाइने भन्नेबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन ।
यसअघि नै मध्यपूर्वमा करिब ५० हजार अमेरिकी सैनिक तैनाथ छन् । पछिल्लो कदमले क्षेत्रमा जारी द्वन्द्वलाई थप जटिल बनाउन सक्ने विश्लेषण गरिएको छ । अमेरिकी पक्षले इरानभित्रै सैनिक पठाउने निर्णय भने हालसम्म नगरेको जनाइएको छ। तर सम्भावित सैन्य कारबाहीका लागि तयारी बढाइएको स्रोतहरूले बताएका छन्।
यसैबीच, युएसए बक्सरमार्फत हजारौं मरीन र नौसैनिकहरू समेत मध्यपूर्व पठाइसकिएको छ । अमेरिकाले फेब्रुअरी २८ देखि सुरु भएको सैन्य कारबाहीमा इरानभित्र हजारौं लक्ष्यमा आक्रमण गरिसकेको जनाएको छ। हालसम्म १३ अमेरिकी सैनिकको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।
यता, अमेरिकी प्रशासनले होर्मुज सुरक्षित गर्ने विकल्प पनि अध्ययन गरिरहेको छ। साथै इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा स्थल सेना पठाउने सम्भावनाबारे समेत छलफल भइरहेको बताइएको छ।
विशेषज्ञहरूका अनुसार थप सैनिक परिचालनले क्षेत्रीय तनाव अझ बढ्न सक्नेछ। साथै, इरानमाथिको आक्रमणप्रति अमेरिकी जनमतसमेत विभाजित देखिएको छ।

प्रतिक्रिया