न्यूजिल्याण्डमा साम्बाको घुँडाको सफल शल्यक्रिया


काठमाडौँ । नेपाली फुटबलर साबित्रा भण्डारी(साम्बा) को घुँडाको शल्यक्रिया भएको छ । बुधबार बिहान सामाजिक संजालमार्फत साम्बाले न्यूजिल्याण्डमा आफ्नो घुँडाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएकी हुन् ।

उनले अब यहाँको चिकित्सकको निगरानीमा पुनस्र्थापनाको काम भोलिदेखि सुरू हुने बताएकी छन् । उनले भनेकी छन्, ‘लामो प्रतिक्षापछि अन्ततः मेरो घुँडाको शल्यक्रिया भएको छ । बुधबार विहान डाक्टर साइमन र उहाँको टोलीबाट न्यूजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको जानकारी गराउँदछु । खाडी क्षेत्रमा हाल अवस्था सामान्य नरहेकै कारण कतार र एस्पेटार पुग्न समस्या भएपछि त्यहाँकै सुझाव अनुसार न्यूजिल्यान्डमै उपलब्ध विशेषज्ञबाट मेरो शल्यक्रिया गरिएको छ । अब यहाँको डाक्टकै निगरानीमा मेरो पुनस्र्थापनाको काम भोलिदेखि सुरू हुनेछ ।’

उनले यसक्रममा आफूलाई साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।

उनले भनेकी छन्, ‘स्थिति सामान्य हुनेबितिक्कै रिह्याब एस्पेटारमा निरन्तरता दिने जानकारी सबैमा गर्दछु । यस पीडाको घडीमा मलाई साथ दिनुहुने वेलिंगटन र अकल्यान्डमा रहनुभएका नेपाली परिवारलाई जति धन्यवाद दिएपनि कम हुन्छ । मेरो क्लब वेलिंगटन फिनिक्स र मेरो व्यवस्थापन टिमले दिनरात गरेर यो शल्यक्रियाको लागि समय मिलाउनुभएको छ । आम समर्थक जसले सधैं मेरो लागि सहयोग र माया दिनुभयो, त्यसै उर्जा लिएर म पुनरागमनको यात्रामा अघि बढेको छु । यहाँहरु सबैलाई हृदयदेखि धन्यवाद । अब सम्पूर्ण ध्यान पुनरागमनमा ।’

यसअघि उनले उपचारमा एन्फाले वेवास्ता गरेको भन्दै सहयोगको अपील गरेकी थिइन् । उनले अपील गरेको २४ घण्टाभित्र उनको उपचारका लागि डेढ करोड भन्दा बढी सहयोग उठेको थियो ।