मोरङका पाँच स्थानमा बर्डफ्लु


मोरङ । मोरङका पाँच स्थानमा बर्डफ्लु सङ्क्रमण फैलिएको छ। विराटनगरको दाहाल कृषि फर्म, सुन्दरहरैचा नगरपालिकाको हलेसी महादेव फर्म, उर्लाबारी नगरपालिकाको अठियाावारी फर्म र कटहरीको ए टु जेड र कामख्या पोल्टी फर्ममा कुखुरामा बर्डफ्लु देखिएको पशुपक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगरले पुष्टि गरेको छ।

सङ्क्रमण पुष्टि भएका क्षेत्रमा पक्षी, अण्डा, दाना र अन्य सामग्री नष्ट गर्ने प्रक्रिया अघि बढाएको छ। पछिल्ला केही दिनयता बोइलर र लेयर्स कुखुरा फर्ममा कुखुरा मर्ने क्रम वृद्धि भएसँगै दैनिक आठदेखि नौ जना किसान परीक्षणका लागि मरेका कुखुरा लिएर आउने गरेको प्रयोगशालाका प्रमुख डा कमल गिरीले बताए।

उनका अनुसार गत साउनयता परीक्षण गरिएका १९८ नमुनामध्ये ४५ वटामा बर्डफ्लु पुष्टि भइसकेको छ। शङ्कास्पद नमुना परीक्षणका लागि काठमाडौं पठाइएको डा गिरीले जानकारी दिए।