काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालपछि सार्वजनिक ओहदामा बसेका सबैको सम्पत्ति छानबिन गर्न तत्काल आयोग बनाउनुपर्ने बताएका छन् ।
मंगलबार पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले अब बन्ने सरकारले आयोग गठन गर्नुपर्न र त्यसलाई प्रमुख प्रतिपक्षीको रूपमा कांग्रेसले सहयोग गर्ने बताएका हुन् ।
उनले २०४६ सालदेखि भदौ २४ मा नेताका घरमा जलेका नोटसम्मको छानबिन गर्नुपर्ने बताए । उनले भने, ‘०४६ सालपछि सार्वजनिक सेवामा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ । रास्वपाले पनि त्यही भनेको छ । आयोग बनाउँछौँ र छानबिन गर्छौँ, अवैध हो भने सम्पत्ति जफत गर्न सहयोग गर्नेछौँ । नेताको घरमा डढेको पैसा, सार्वजनिक पदको दुरुपयोगको विषय सार्वजनिक खपतको विषय हुनुहुन्न । विधिसम्मत ढंगले कुनै पूर्वाग्रह नराखी काम गर्नुपर्छ ।’
उनले पूर्वाग्रह नराखी निष्पक्ष ढंगले छानबिन गर्नुपर्ने बताए । उनले गलत तरिकाबाट आर्जन गर्नेको सम्पत्ति राज्यले जफत गर्नुपर्ने बताए । उनले सरकारले गर्ने काममा कांग्रेसको साथ रहने बताए ।
उनले भने, ‘हामी सरकारमा हुँदैनौँ । तर राष्ट्रियसभामा छौँ, प्रतिपक्षमा छौँ, प्रदेश र स्थानीय तहमा छौँ । सरकारले गर्ने सत्प्रयासमा हाम्रो साथ रहनेछ ।’
उनले निर्वाचनबाट निर्वाचित हुने रास्वपा र त्यसको नेतृत्वलाई बधाई दिए । उनले सरकारसँग बढी तागत भएको बेलामा प्रतिपक्षको पनि जिम्मेवारी हुने बताउँदै नयाँ भूमिका आफूहरुले पनि प्राप्त गरेको बताए । उनले सरकारको गतिमा कांग्रेसको साथ रहने बताए । उनले भने, ‘पाँच वर्ष मुलुक दुर्घटनामा पर्न हुँदैन । सरकारले पाँच वर्ष पूरा गर्नुपर्छ ।’

प्रतिक्रिया