साफ यु–२० च्याम्पियनसिप फुटबलमा भुटानमाथि नेपालको जित


काठमाडौँ । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित गरेको छ । माल्दिभसको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा सोमबार भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि २–१ को जित हासिल गरेको हो । नेपालको जितमा सुजन डङ्गोल र सुवास वमले समान एक–एक गोल गरे । यता भुटानका लागि धेनदुप ग्यालसेनले गोल फर्काए ।

खेलको पाँचौँ मिनेटमा सुजनले गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ५२औँ मिनेटमा सुवासले गोल गर्दै नेपाललाई २–० गोलको अग्रता बनाए ।

खेलको ८३औँ मिनेटमा भुटानका धेनदुपले गोल गर्दै खेललाई २–१ तर्फ अगाडि बढाए । त्यसपछि खेलमा गोल हुन सकेन र नेपालले भुटानमाथि २–१ को जितदर्ता गरायो ।