नयाँ संसद् भवनमा सबै सांसदलाई बेग्लाबेग्लै ‘चेम्बर’


काठमाडौँ ।  संघीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ व्यवस्थापनको तयारीमा जुटिरहेको छ ।

सोही सन्दर्भमा सचिवालयले यही चैत ५ गते सूचनामार्फत् निर्वाचित सांसदहरूलाई शपथ कार्यक्रममा सहभागी हुन आह्वान गरिसकेको छ ।

यही चैत १२ गते अपराह्न २ बजे शपथ समारोहको आयोजना गरिएको छ । निर्धारित समयभन्दा दुई घण्टाअगावै औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा उपस्थितिका लागि सचिवालयको अनुरोध छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ७८ वर्षीय अर्जुननरसिंह केसीले यही चैत ११ गते राष्ट्रपति भवन शीलत निवासमा शपथ लिनेछन् । त्यसपछि यही चैत १२ गते निर्वाचित प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्य केसीले शपथ दिलाउनेछन् ।

नेपालको संविधानको धारा, ८८ मा ‘संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानूनबमोजिम शपथ लिनुपर्ने’ व्यवस्था छ ।

संविधानको धारा, ९१ (५) मा प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ ।

शपथ समारोहपछि नवनिर्वाचित सदस्यलाई प्रतिनिधिसभा सदस्यको प्रतीक चिह्न (लोगो), संविधान, संसद् नियमावली, संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको सेवा सुविधासम्बन्धी सँगालोसहितका सामग्री उपलब्ध गराइनेछ ।

सचिवालयका प्रवक्ता एकराम गिरिले नवनिर्वाचित सांसदको शपथको आवश्यक व्यवस्थापनतर्फ सचिवालय लागिरहेको जानकारी दिए ।

‘सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा सांसदहरुको शपथ र अधिवेशनका प्रारम्भिक बैठक गर्ने तयारी भइरहेको छ’, उनले भने ।

हलभित्रको भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको छ भने केही प्राविधिक काम अन्तिम चरणमा पुगेको छ । सुरक्षालगायत विभिन्न पाटोबाट व्यवस्थापनको काम भइरहेको प्रवक्ता गिरिले स्पष्ट पारे ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान हुने संवैधानिक व्यवस्था छ । अधिवेशन आह्वानपछि संसद् बैठकको तयारीमा लाग्ने सचिवालयले जनाएको छ ।

निर्वाचनपछि संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दल र सांसद सङ्ख्या फेरबदल भएसँगै सचिवालयले संसदीय दलको कार्यालय पनि सोहीअनुसार व्यवस्थापन गरिएको जनाएको छ ।

‘सचिवालयभित्रै भएका संसदीय दलका कार्यालयलाई पार्टीको ‘स्ट्रेन्थ’ अनुसार व्यवस्थापन गरिएको छ’, प्रवक्ता गिरीले भने ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेपाली कम्युनिष्ट पार्टी (एमाले)का २५, नेपाली कम्युनिष्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच तथा स्वतन्त्र सांसद एक जना निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई साविककै संसदीय दलको कार्यालयमा व्यवस्थापन गरिएको छ । नेपाली कम्युनिष्ट पार्टीले प्रयोग गर्दै आएको सचिवालयको भवन नं २ अन्तर्गत साबिकको कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टीका लागि व्यवस्था गरिएको छ ।

यसअघि रास्वपाले प्रयोग गर्दै आएको कार्यालय भवनलाई नेकपा, श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको कार्यालयका रूपमा व्यस्थापन गरिएको छ ।

‘त्यो अल्पकालीन व्यवस्था हो, निर्माणाधीन संसद् भवन सम्पन्न भएपछि सोही भवनभित्रै दलको कार्यालयहरू रहनेछन्’, प्रवक्ता गिरिले भने । नयाँ संसद् भवनमा सबै सांसदलाई बेग्लाबेग्लै ‘चेम्बर’को समेत व्यवस्था गरिएको छ ।