भारत र चीनले जुन १ देखि लिपुलेक हुँदै सीमा व्यापार सुरु गर्ने


काठमाडौँ । भारतले लिपुलेक पास हुँदै भारत–चीन व्यापार मार्ग खुलाउने भएको छ । उत्तराखण्डको पिथौरागढ जिल्लास्थित लिपुलेक पास हुँदै भारत–चीनबीचको सीमावर्ती व्यापार ६ वर्षपछि पुनः सञ्चालन हुने भएको हो ।

जिल्ला अधिकारी आशिष भटगाईका अनुसार केन्द्र सरकारको निर्देशनपछि जुनदेखि सेप्टेम्बरसम्म सञ्चालन हुने व्यापारका लागि तयारी सुरु गरिएको छ । विदेश मन्त्रालयले ‘नो अब्जेक्सन सर्टिफिकेट’ जारी गरेपछि प्रक्रिया अघि बढाइएको हो । विदेश सचिव विक्रम मिश्रीले उत्तराखण्डका मुख्य सचिव आनन्द बर्धनलाई पत्र लेख्दै हिमाली मार्ग हुँदै व्यापार पुनः सञ्चालन गर्न अनुरोध गरेका छन् ।

पत्रमा गृह मन्त्रालय र वाणिज्य तथा उद्योग मन्त्रालयले समेत स्वीकृति दिएको उल्लेख गरिएको छ । सन् २०२६ को व्यापारका लागि आवश्यक तयारी गर्न राज्य सरकारलाई सम्बन्धित निकायलाई निर्देशन दिन भनिएको भटगाईले जानकारी दिए।

दुवै देशबीच समन्वय सुदृढ गर्न स्थानीय अधिकारीहरूको सम्पर्क विवरण चिनियाँ पक्षसँग साझेदारी गरिनेछ । व्यापारलाई सहज बनाउन व्यापार पास वितरण गर्ने निकाय, मुद्रा सटहीका लागि तोकिएका बैंक, भन्सार विभाग तथा धार्चुला प्रशासनलाई विस्तृत कार्ययोजना तयार गर्न निर्देशन दिइएको छ।

यसअन्तर्गत ट्रान्जिट क्याम्प, सञ्चार, बैंकिङ सेवा, सुरक्षा र स्वास्थ्य सेवाको व्यवस्था गरिनेछ । लिपुलेक नाका हुँदै तिब्बतसँगको व्यापार सन् १९९२ मा लामो समयपछि पुनः सुरु गरिएको थियो ।

तर सन् २०१९ मा कोभिड–१९ महामारीका कारण व्यापार रोकिएको थियो । पिथौरागढस्थित सीमान्त व्यापार सङ्घका अध्यक्ष जीवन सिंह रोंकालीले निर्णयको स्वागत गर्दै व्यापार पुनः सञ्चालन भएपछि ताक्लाकोटस्थित गोदाममा थन्किएका सामान फिर्ता ल्याउन सहज हुने बताए। यसअघि नेपाली भूमि लिपुलेक व्यपार मार्ग खुलाउने भारत र चीनले सम्झौता गरेको भन्दै नेपालले विरोध गरेको थियो ।