कालीकोट जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालन


कालीकोट । जिल्ला अस्पताल कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा आएको छ । विगत लामो समयदेखि जिल्ला अस्पताल कालीकोटबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिँदै आएको विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा आएको हो ।

विगतका दिनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हरेक महिनाको पहिलो हप्ता र अन्तिम हप्ताको शुक्रबार जिल्ला अस्पताल कालीकोटबाट विशेषज्ञ चिकित्सा सेवा दिँदै आएको थियो ।

विगतमा लामो समयदेखि अवरुद्ध रहेको विशेषज्ञ चिकित्सा सेवा ६ चैत शुक्रबारदेखि सेवा पुनः सञ्चालन भएसँगै स्थानीय नागरिकले जिल्लामै विशेषज्ञ उपचार सेवा पाउने भएको जिल्ला अस्पताल कालीकोटका सूचना अधिकारी कटक महतले बताए ।

सेवा विस्तारसँगै स्थानीय बासिन्दालाई बाहिरी जिल्लामा धाउनुपर्ने बाध्यता घट्ने र गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको सूचना अधिकारी महतले जानकारी दिए ।