इरानी आक्रमणपछि अमेरिकी एफ–३५ लडाकु विमान आकस्मिक अवतरण


वासिङ्टन । इरानले अमेरिकी एफ–३५ लडाकु विमानमा आक्रमण गरेको छ । इरानी आक्रमणपछि मध्यपूर्वस्थित अमेरिकी सैन्य आधारमा विमान आकस्मिक अवतरण गरेको छ ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेयता इरानले अमेरिकी युद्धविमानलाई प्रहार गरेको सम्भावित यो पहिलो घटना हो ।

अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ता टिम हकिन्सका अनुसार विमान इरानमाथि लडाकु मिसनमा उडिरहेको बेला आकस्मिक अवतरण गर्नुपरेको हो। ‘विमान सुरक्षित रूपमा अवतरण भएको छ र पाइलटको अवस्था स्थिर छ,’ उनले भने।

घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । इरानसँगको द्वन्द्वमा अमेरिकी र इजरायली दुवै सेनाले एफ–३५ विमान प्रयोग गरिरहेका छन्, जसको मूल्य १० करोड अमेरिकी डलरभन्दा बढी पर्ने बताइएको छ ।

यसअघि बिहीबार पेन्टागनमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानको वायु रक्षा प्रणाली ‘पूर्ण रूपमा ध्वस्त’ पारिएको दाबी गरेका थिए।

संयुक्त स्टाफ प्रमुखका अध्यक्ष डान केनले भने इरानसँग अझै पनि मध्यपूर्वमा अमेरिका र उसका सहयोगीका सम्पत्तिमाथि, विशेषगरी तेल पूर्वाधारमा, आक्रमण गर्न ‘केही क्षमता’ बाँकी रहेको बताएका छन्।

बुधबार इजरायलले इरानको साउथ पार्स ग्यास क्षेत्रमाथि आक्रमण गरेपछि अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व थप चर्किएको हो। त्यसपछिका इरानी आक्रमणबाट कतारका तरलीकृत प्राकृतिक ग्यास संरचनामा आगलागी र व्यापक क्षति पुगेको जनाइएको छ, जसका कारण बिहीबार तेल र ग्यासको मूल्य पुनः उकालो लागेको छ।