पूर्वी लेबनानमा सेना पठाई हिज्बुल्लाहलाई निशस्त्र बनाउन सिरियालाई अमेरिकी आग्रह


रोएटर्स । अमेरिकाले सिरियालाई पूर्वी लेबनानमा सेना पठाई हिज्बुल्लाहलाई निशस्त्र बनाउन सहयोग गर्न आग्रह गरेको छ । तर मध्यपूर्वमा जारी तनावमा तानिन सक्ने र सम्प्रदायिक द्वन्द्व चर्किन सक्ने चिन्ताका कारण दमास्कस यस्तो कदम चाल्न हिचकिचाइरहेको स्रोतहरूले बताएका छन् ।

अमेरिका–समर्थित सिरियाली सरकारसमक्ष आएको उक्त प्रस्तावले इरान समर्थित हिज्बुल्लाहविरुद्धको दबाब बढ्दै गएको संकेत गर्दछ। हिज्बुल्लाहले मार्च २ मा इजरायलविरुद्ध आक्रमण गरेपछि लेबनानमा इजरायली सैन्य कारबाही तीव्र बनेको छ ।

स्रोतहरूका अनुसार यो प्रस्ताव पहिलोपटक गतवर्ष अमेरिकी र सिरियाली अधिकारीहरूबीच छलफल भएको थियो। पछिल्लोपटक अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गर्ने समयतिर यस विषयलाई पुनः उठाइएको थियो ।

यस विषयमा रोएटर्सले विभिन्न स्रोतहरूसँग कुराकानी गरेको थियो, जसमा सिरियाली अधिकारी, कूटनीतिज्ञ तथा गुप्तचर स्रोतहरू समावेश छन्। उनीहरूले सिरियाले सीमापार सैन्य कारबाहीबारे विचार गरिरहेको तर अझै निर्णयमा नपुगेको बताएका छन्।

अमेरिकी विदेश मन्त्रालयले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ। यद्यपि समाचार सार्वजनिक भएपछि सिरियाका लागि अमेरिकी दूत टम बराकले अमेरिका सिरियालाई लेबनानमा सेना पठाउन प्रोत्साहित गरेको भन्ने दाबी असत्य भएको बताएका छन्।

यसैबीच, सिरियाले लेबनानसँगको सीमामा हजारौँ सैनिक तैनाथ गरेको छ, जसलाई उसले रक्षात्मक कदम भनेको छ। सिरियाली राष्ट्रपति अहमद अल–शरा ले लेबनानको सार्वभौमिकताको सम्मान गर्ने र कुनै हस्तक्षेप नगर्ने आश्वासन दिएका छन् ।

लेबनानका राष्ट्रपति जोसेफ औनले पनि यस्तो कुनै प्रस्तावबारे जानकारी नपाएको बताएका छन्। उनका अनुसार सिरियासँग सीमासम्बन्धी विषयमा मात्र समन्वय भइरहेको छ । प्रधानमन्त्री नवाफ सलाम ले सिरियाले सीमा क्षेत्रमा सैनिक उपस्थिति बढाउनुको उद्देश्य केवल सुरक्षा सुदृढ गर्नु रहेको बताएका छन्।