काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कठिन परिस्थितिमा पनि शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न एमालेले खेलेको भूमिकाको प्रशंसा गरेकी छन् । मंगलबार साँझ बालुवाटार पुगेका एमाले नेताहरुलाई प्रधानमन्त्रीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गरेको भन्दै धन्यवाद दिएकी छन् ।
प्रधानमन्त्रीलाई भेट्न एमालो नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार गएका थिए । त्यस अवसरमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘यो कठिन अवस्थालाई शान्तिपूर्ण रुपमा निकास दिने एक मात्र विकल्प निर्वाचन नै थियो। राष्ट्रप्रतिको जिम्मेवारी सम्झेर यहाँहरुले जुन सहयोगी भूमिका खेलिदिनुभयो र निर्वाचनमा सक्रिय सहभागिता जनाइदिनुभयो, यसका लागि मुरीमुरी धन्यवाद दिन चाहन्छु ।’
प्रधानमन्त्री कार्कीले निर्वाचनमा जित–हार स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै एकपटकको जनादेशले पार्टीको दीर्घकालीन हैसियत निर्धारण नगर्ने बताइन् । उनले भारतीय नेताहरू अटल बिहारी वाजपेयी र इन्दिरा गान्धीको उदाहरण दिँदै राजनीतिक उतारचढाव स्वाभाविक रहेको धारणा राखिन् । उनले निर्वाचनमा जित–हार भइरहने भएकाले एकपल्टको जनादेशबाट विचलित नहुन भन्दै एमाले नेतृत्वलाई आग्रह गरिन् ।
उनले भनिन्,’एकैपटकको जनमतले सधैँका लागि पार्टीहरूको हैसियत निर्धारण गर्दैन। भारतमा अटलविहारी बाजपेयी र इन्दिरा गान्धीका पालामा उहाँहरूका पार्टीले व्यहोरेको उतारचढाव पनि देखेकै छौँ । राजनीति निरन्तरको अभियान भएकाले देश र जनताका मुद्दा बोकेर लागिरहनुहोस् ।’
भेटमा एमाले नेताहरूले पनि सबै पक्षको चित्त बुझाउँदै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराएको भन्दै प्रधानमन्त्री र सरकारलाई बधाई दिएका थिए ।

प्रतिक्रिया