आफ्ना नागरिकलाई इराक छाड्न अमेरिकाको आग्रह


बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले होर्मुज स्ट्रेटको सुरक्षामा सहयोगीहरूको साथ खोजिरहँदा बग्दादस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई तत्काल इराक छाड्न आग्रह गरेको छ ।

शनिबार दूतावासको भवनमा क्षेप्यास्त्र प्रहार भएका थिए । दूतावासले त्यहीँ बस्ने विचारमा रहेकाहरूलाई पनि आफ्नो निर्णयमा पुनर्विचार गर्न भनेको छ । ‘इरान र ऊसम्बद्ध आतङ्कवादी मिलिशिया समूहहरूले इराकमा सार्वजनिक सुरक्षामाथि ठूलो खतरा पैदा गरेका छन्। अमेरिकी नागरिक, हित र महत्वपूर्ण पूर्वाधारलाई लक्षित गरी आक्रमणहरू भएका छन्,’ दूतावासले सामाजिक सञ्जाल एक्समा लेखेको छ र यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले सहयोगी देशहरूले हर्मुज स्ट्रेटको सुरक्षाका निम्ति साथ दिनुपर्ने अपील गरेका छन् ।

उक्त मार्ग तेल ओसारपसारका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ। होर्मुज स्ट्रेटबाट आवतजावत गर्ने जहाजहरूमाथि इरानको अवरोध जारी रहेसँगै विश्व ऊर्जाबजारमा पनि असर गहिरिँदै गएको विवरणहरू आइरहेका छन् । ट्रम्पले यसअघि ‘ट्रूथ सोशल’मा पोस्ट गर्दै यूकेसहित अन्य देशलाई पनि उक्त मार्गमा जहाज पठाएर अमेरिकालाई साथ दिन भनेका थिए।

सँगैको अर्को पोस्टमा उनले उक्त मार्गबाट तेल प्राप्त गर्ने देशहरूले त्यसको सुरक्षामा ‘स्वयंले ध्यान दिनुपर्ने’ उल्लेख गरेका थिए।एनबीसीसँगको एउटा अन्तर्वार्तामा ट्रम्पले आफू अझै इरानसँग सम्झौताका निम्ति तयार नभएको बताएका छन्। उनका अनुसार ‘सर्तहरू पर्याप्त रूपमा राम्रा भइसकेका छैनन्।’उनले अमेरिकाले इरानको खार्ग द्वीपमा पुनः आक्रमण गर्ने पनि बताएका छन्।