आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव


काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव आयोजना गर्ने भएको छ । महानगरपालिका वडा नं १५ को आयोजनामा शनिबार भएको छलफलमा वैशाख १२ देखि १९ गतेसम्म महोत्सव आयोजना गर्ने सहमती भएको हो ।

वडा १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले वडाको प्राचीन धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा सामाजिक मठमन्दिर, चैत्य, गुम्बासहितको पहिचान, मूर्त सम्पदा तथा अमूर्त सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताए ।

उनका अनुसार यस वर्ष भूइँखेल, भूकम्प पार्क छाउनी, किमडोल, विजेश्वरी, डल्लु, डल्लु आवास गणेश स्थान, चमती दबू र अन्नपूर्ण क्षेत्र गरी आठ स्थानमा महोत्सव आयोजना गरिने छ । “महोत्सवले प्राचीन तर आझेलमा परेका स्मारकलाई पर्यटकीय स्थलका रूपमा प्रवर्द्धन गर्न, स्थानीय उत्पादनको बिक्रीबाट वडावासीको आयआर्जनमा टेवा पुग्ने र स्थानीय प्रतिभाको पहिचानमा सहयोग पुग्ने अपेक्षा छ”, वडाध्यक्ष डङ्गोलले भने ।

महोत्सवलाई सद्भावयुक्त र सुरक्षित बनाउन महानगरीय प्रहरी वृत्त स्वयम्भू र महानगर प्रहरी बलका बीच समन्वय हुनेछ । काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले विगतका महोत्सवको अनुभवबाट यस वर्ष थप सुरक्षा व्यवस्थापन चुस्त गरिने बताए ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख मोहनमणि अधिकारीले स्थानीयबासीको समान सहभागिताबाट शान्ति सुरक्षा प्रभावकारी हुने बताउँदै यसका लागि महानगर प्रहरी बलसँग सहकार्य गरिने बताए ।

स्वयम्भू महाचैत्य, महाचैत्य स्थापनासँग मञ्जुश्रीको सम्बन्धका विषयमा जोडिएको लोककथा, जामुन गुमाजुको तान्त्रिक विद्यामा आधारित शान्तिपुर यस क्षेत्रका महत्वपूर्ण स्मारक हुन् । शक्तिपीठहरूमा शोभा भगवतीको मन्दिर, तान्त्रिक विद्यामा आधारित विजेश्वरी मन्दिर, गीता मन्दिर सांस्कृतिक पर्यटनका सम्भावित स्थान हुन् । प्राकृतिक विज्ञान सङ्ग्रहालय आन्तरिक तथा बाह्य पर्यटक दुवैका अवलोकन योग्य स्थान हो ।

वडामा मनाइने जात्राहरूमा गुँला मेला, बुद्ध जयन्ती, बौद्धबाट सुरु भएर स्वयम्भूमा सकिने तेमाल जात्रा, हिमाली भेगका मानिसले मनाउने साकाधावा, साउनमा हुने रोपाइँ मेला मुख्य छन् । नेवार समुदायको बाहुल्यता भएको यस वडामा आर्य, तामाङ, गुरुङ, मगरसहित मिश्रित बसोबास छ ।