मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुरको गौरीटार रङ्गशालालाई प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा अघि बढाउने बताएका छन्।
‘बृहत खेलकुद, कृषि तथा पर्यटन महोत्सव हेटौँडा २०८२’ को आज उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले गौरीटार रङ्गशालालाई अन्तरराष्ट्रियस्तरको खेलकुद प्रतियोगिता सञ्चालन हुनेगरी प्रदेशको गौरवका आयोजनाका रूपमा अघि बढाउने बताएका हुन् ।
“यहाँ हाम्रो गौरीटार रङ्गशाला छ, त्यहाँ थोरै बजेट खर्च गरेर केही काम पनि भएको छ”, मुख्यमन्त्री बानियाँले भने, “अब त्यहाँ प्रदेश सरकारले एक अर्ब बढी बजेट लगानी गरेर अन्तरराष्ट्रियस्तरको खेलकुद प्रतियोगिता सञ्चालन गर्ने स्तरको संरचना निर्माण गर्नेछ ।” सो स्थानमा खेलकुद मैदान, स्वीमिङ पुल, ब्याडमिन्टन, क्रिकेट, बास्केटबल, फुटबललगायत सबै किसिमका खेलकुद प्रतियोगिता गर्न सकिने किसिमको संरचना निर्माण गरिने उनको भनाइ थियो ।
गौरीटार रङ्गशालामा आगामी एक महिनाभित्र बागमती प्रदेशस्तरीय खेल महोत्सव आयोजन गर्न लागिएको जानकारी दिँदै मुख्यमन्त्री बानियाँले बागमती खेलकुद विकास परिषद्ले आयोजना गर्न लागेको खेल महोत्सवलाई सफल बनाउन जिल्ला खेलकुद विकास समितिलगायत सरोकारवालाले सहयोग गर्नुपर्ने बताए।
खेलाडीहरू समाज र राष्ट्रका पहिचान भएकाले अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि प्रदेश सरकारले सङ्घीय सरकार र स्थानीय सरकारसँग समन्वय, सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै खेलकुद क्षेत्रको विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए ।
कृषि, पर्यटन क्षेत्रको विकास गरी प्रदेशका जनताको आयस्रोत वृद्धि गर्ने विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउनुहुँदै मुख्यमन्त्री बानियाँले प्रदेशभित्र रहेका पर्यटकीय क्षेत्रहरूको संरक्षण, संवर्द्धन गरी पर्यटक क्षेत्रको विकास गर्न प्रदेश सरकारले काम अघि बढाएको उल्लेख गरे।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, मकवानपुर उद्योग बाणिज्य सङ्घका अध्यक्ष प्रमोदराज रानाभाट, नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतले आफ्नो भनाइ राखेका थिए।

प्रतिक्रिया