प्रधानन्यायाधीश राउतलाई गृहनगरमा अभिनन्दन


उदयपुर । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई कटारी नगरपालिकामा अभिनन्दन गरिएको छ । कटारी–४ स्थित त्रिवेणी माविको ५८औँ वार्षिकोत्सवका अवसरमा आज प्रधानन्यायाधीश राउतलाई अभिनन्दन गरिएको हो ।

वार्षिकोत्सवका अवसरमा आयोजित बृहत् कार्यक्रमका बीच प्रधानन्यायाधीश राउतलाई विद्यालय परिवारले अभिनन्दन गरेको हो ।

‘यस विद्यालयको पूर्वविद्यार्थी राउतलाई देशको सर्वोच्च स्थानमा पुगेर दिनुभएको योगदानको कदर गर्दै अभिनन्दन गरेका हौँ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनिराज दाहालले भने, ‘उहाँलाई विद्यार्थीहरूको माझ अभिनन्दन गरेपछि विद्यार्थीहरूलाई पनि थप प्रेरणा मिल्छ ।’

दोसल्ला र अभिनन्दनपत्रले अभिनन्दित भएपछि प्रमुख अतिथि राउतले आफू जहिले पनि यो विद्यालय आसपास रहेको स्मरण गरे । ‘विसं २०३३ मा एसएलसी दिएपछि यो विद्यालयबाट टाढिए पनि म सधैँ यहीँ छु जस्तो लाग्छ’, प्रधानन्यायाधीश राउतले भने, ‘यो विद्यालयले दिएको असल शिक्षा र ज्ञानको उपलब्धिले नै म यहाँ आइपुगेको हुँ ।’

वार्षिकोत्सवका अवसरमा विद्यालयका एकमात्र जीवित संस्थापक सेक्रेटरी (सचिव) राउतकै पिता बलबहादुर राउत, पूर्वप्रधानाध्यापक राजेन्द्रप्रसाद निरौला, पूर्वशिक्षक रामकुमार दाहाल (शास्त्री सर), इन्द्रनारायण गोइत (आइएनजी सर)लाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रमकै अवसरमा प्रमुख अतिथि राउत, विशेष अतिथि कटारीका नगरप्रमुख राजेशचन्द्र श्रेष्ठलगायतले विद्यालयले प्रकाशन गरेको स्मारिका विमोचन गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख श्रेष्ठले यस विद्यालयको हरेक सफलतामा नगरपालिकाले साथ दिएको र विद्यालयका विद्यार्थीहरूले पनि हरेक विधामा सफलता प्राप्त गरेको बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बालकृष्ण कार्कीले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै अझ थप भौतिक संरचना आवश्यक रहेको बताए ।

कार्यक्रमका अवसरमा विद्यालयमा कार्यरत प्राथमिक तहका शिक्षिका अम्बिका राई उत्कृष्ट वर्ष शिक्षकको रूपमा सम्मानित भए भने अन्य विधामा खेलकुदतर्फ शिक्षक आयुस कार्कीलाई प्रशंसापत्र प्रदान गरियो ।