स्वर्णिम वाग्लेको चुनावी खर्च २६ लाख ९० हजार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. वाग्लेले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । जिल्ला निर्वाचन कार्यालय, तनहुँमा पेश गरिएको विवरण अनुसार उनको कुल निर्वाचन खर्च २६ लाख ९० हजार ७ सय ५४ रुपैयाँ रहेको छ ।

सोही क्षेत्रबाट निर्वाचित बनेका वाग्लेका निर्वाचन प्रतिनिधि पदमराज न्यौपानेले मिति फागुन २७ गते उक्त खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका हुन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम बुझाइएको अनुसूची–४१ को विवरण अनुसार, वाग्लेको निर्वाचन अभियानमा सबैभन्दा बढी रकम प्रचारप्रसार सामग्री र सवारी साधनमा खर्च भएको छ।