काठमाडौँ । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले जेनजी आन्दोलनमा भएको क्षतिको अनुसन्धान गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन् ।
आयोगले प्रतिवेदन बुझाएपनि सरकारले सार्वजनिक नगरेपछि उनले प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी हुन् । उनले प्रतिवेदन नेपाली जनताले पढ्न पाउनुपर्ने बताएकी छन् ।
उनले भनेकी छन्, ‘गौरीबहादुर कार्कीको प्रतिवेदन सार्वजनिक हुनैपर्छ, हामीले त्यो पढ्न पाउनुपर्छ। कति वटा विषयहरू अनुत्तरित छन्, ती अनुत्तरित विषयहरूमा closure चाहिन्छ! हामीले पढ्न पाउनुपर्छ । धेरै आयोगहरूको प्रतिवेदन लुकाउने काम पहिलेका सरकारहरूले गर्यो, अब यो नागरिक सरकारले नगरोस्। हामीलाई उत्तर चाहिन्छ।’
आयोगले गत आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न सरकारले आन्दोलन र प्रदर्शनका क्रममा भएको दमन, आगजनी तथा तोडफोडको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो ।
आयोगले प्रतिवेदनमा भदौ २३ को जेनजी आन्दोलनमा भएको राज्यपक्षको दमन र त्यसको भोलिपल्ट भएको विध्वंसको छुट्टाछुट्टै अध्ययन र कारबाही सिफारिस गरिएको छ । प्रधानमन्त्री कार्कीले प्रतिवेदन अध्ययनपछि सार्वजनिक गर्ने बताएकी थिइन् ।

प्रतिक्रिया