ललितपुर । ललितपुरका स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले सभापति गगनकुमार थापाको पक्षमा ऐक्यबद्धता जनाएका छन्।
बिहीबार संयुक्त विज्ञप्ति जारी गरी ललितपुरका नगर प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूले वर्तमान जटिल राजनीतिक अवस्थामा थापाको नेतृत्व र अभिभावकत्व पार्टीका लागि अपरिहार्य रहेको बताएका हुन्।
विज्ञप्तिमा नेपाली कांग्रेसको गरिमामय इतिहास, वर्तमान राजनीतिक चुनौती, राष्ट्रियता र लोकतन्त्रको संरक्षणका साथै समसामयिक राजनीतिमा खेल्नुपर्ने प्रभावकारी भूमिकाका लागि गगन थापा नै एक मात्र योग्य व्यक्तित्व भएको दाबी गरिएको छ। जनप्रतिनिधिहरूले पछिल्लो समय चर्चामा आएको सभापतिको राजीनामाको विषयलाई पूर्णतः नकार्दै पार्टीको सुदृढीकरणका लागि नेतृत्वको निरन्तरताको खाँचो औंल्याएका छन्।
यसरी ऐक्यबद्धता जनाउनेहरूमा ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र बागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चन रहेका छन्।
त्यस्तै, महाङ्कालका अध्यक्ष गणेश बहादुर के.सी, गोदावरीकी उप–प्रमुख मुना अधिकारी, महालक्ष्मीकी उप–प्रमुख लक्ष्मी महर्जन र कोन्ज्योसोमका उपाध्यक्ष राजन घिमिरेले पनि सामूहिक रूपमा सभापति थापालाई अभिभावकत्व ग्रहण गर्न आग्रह गरेका छन्।


प्रतिक्रिया