चीनले प्रविधि र नवप्रवर्तनलाई भविष्यको मुख्य आधार बनाउने


बीबीसी । चीनको सबैभन्दा ठूलो राजनीतिक बैठक नेशनल पिपुल कंग्रेस (एनपीसी) आज सकिँदैछ । एनपीसीसँग कानून निर्माण, संविधान संशोधन र राज्य बजेट अनुमोदन गर्ने अधिकार भए पनि व्यवहारमा यसले सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले गरेका निर्णयलाई औपचारिक स्वीकृति दिने काम गर्ने बताइन्छ ।

एनपीसी र सीपीपीसीसीका बैठकहरूलाई ‘टु सेसन्स’ भनिन्छ। यी बैठकबाट विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले आगामी दिनमा लिने नीति र प्राथमिकताको संकेत पाइने भएकाले अन्तर्राष्ट्रिय रूपमा चासोका साथ हेरिन्छ । विश्लेषकहरूका अनुसार चीनलाई विश्वको अग्रणी शक्ति बनाउने लक्ष्य धेरै हदसम्म राष्ट्रपति सी जिनपिङले अर्थतन्त्र कसरी व्यवस्थापन गर्छन् भन्ने कुरामा निर्भर छ ।

अस्थिर अन्तर्राष्ट्रिय परिस्थिति, अमेरिका–चीन तनाव तथा मध्यपूर्वको युद्धबीच उनले अर्थतन्त्रलाई स्थिर बनाउने प्रयास गरिरहेका छन् । चिनियाँ नागरिकलाई बढी खर्च गर्न प्रोत्साहित गर्ने नीति पनि आन्तरिक अर्थतन्त्र सुदृढ बनाउने उद्देश्यका साथ ल्याइएको बताइएको छ । बैठकले चीनले प्रविधि र नवप्रवर्तनलाई भविष्यको मुख्य आधार बनाउने स्पष्ट संकेत दिएको छ ।

१५औँ पञ्चवर्षीय योजनाअन्तर्गत कृत्रिम बुद्धिमत्ता (एआई), सेमिकन्डक्टर, रोबोटिक्स, बायोटेक्नोलोजी, क्वान्टम कम्प्युटिङ र ६जी सञ्चारजस्ता क्षेत्रमा लगानी बढाउने योजना सार्वजनिक गरिएको छ । सरकारले प्रविधि क्षेत्रमा अनुसन्धान तथा विकास खर्च करिब ७ प्रतिशतले बढाउने लक्ष्य राखेको छ।

‘एआई प्लस’ कार्यक्रममार्फत उत्पादन, स्वास्थ्य, शिक्षा र ढुवानी क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोग विस्तार गर्ने योजना पनि अघि सारिएको छ । चीनले आगामी वर्षका लागि आर्थिक वृद्धिदर ४.५ देखि ५ प्रतिशतको लक्ष्य तय गरेको छ, जुन सन् १९९१ यताकै सबैभन्दा कम लक्ष्य मानिएको छ ।

विश्लेषकहरूका अनुसार घरेलु उपभोग बढ्न नसकेमा आर्थिक सुधारका योजना प्रभावकारी हुन कठिन हुन सक्छ। घरजग्गा बजारको गिरावट र युवा बेरोजगारीका कारण चिनियाँ नागरिक खर्च गर्न हिच्किचाइरहेका छन्।

उपभोग बढाउन सरकारले बाल हेरचाह सेवा विस्तार, सामाजिक सुरक्षा सुधार तथा पूर्वाधार र सामाजिक क्षेत्रमा थप लगानी गर्ने संकेत दिएको छ । यद्यपि विज्ञहरूका अनुसार यी योजनाहरूको स्पष्ट विवरण नआएकाले वास्तविक प्रभाव कति पर्छ भन्ने अझै अनिश्चित रहेको छ ।