-कुलमान घिसिङ
भ्रष्टाचार विरुद्ध र सुशासनको माग गर्दै उठेको जेनजी विद्रोहपछि सम्पन्न चुनावमा नयाँ शक्तिको रूपमा उदाएको उज्यालो नेपाल पार्टीलाई माया, विश्वास र आशा राख्दै देशभरि हाम्रा उम्मेदवारहरूलाई मतदान गर्नुहुने तथा हामीप्रति सद्भाव राख्नुहुने सम्पूर्ण मतदाता, समर्थक र शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । यस अभियानमा अहोरात्र खटिनुहुने पार्टीका नेता, कार्यकर्ता तथा सहयोगीहरूप्रति विशेष आभार व्यक्त गर्न चाहन्छु। साथै विषम परिस्थितिका बीच पनि चुनाव सफलतापूर्वक सम्पन्न गराउन योगदान दिनुहुने सम्माननीय प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरू, सुरक्षा निकाय, कर्मचारी तथा सम्बन्धित सबैप्रति हार्दिक धन्यवाद। यो चुनाव केवल राजनीतिक प्रतिस्पर्धा मात्र थिएन, यो भ्रष्टाचार, अनियमितता र अकर्मण्यताविरुद्ध उठेको जनआवाजपछि आएको परिवर्तनको अवसर थियो।
देशलाई नाराले होइन–दृष्टिकोण, योजना र काम गर्न सक्ने नेतृत्व आवश्यक छ। हामीले धेरै आन्दोलन र घोषणा देख्यौँ, तर समस्याको जड घोषणा होइन, कार्यान्वयनको कमजोरी हो। आज पनि एउटा पुल बनाउन १५ वर्ष लाग्ने, ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसक्ने र निर्णय गर्न नसक्ने प्रणालीले विकासलाई रोकिरहेको छ। यही कारण बजेट खर्च हुन सकेको छैन, विकास सुस्त छ र जनताको आशा बारम्बार निराशामा बदलिँदै गएको छ। हामीले १८ घण्टासम्मको लोडसेडिङको अँध्यारो पनि देख्यौँ। तर साहसी निर्णय र दृढ नेतृत्वले त्यो अँध्यारोलाई चिरेर उज्यालो सम्भव छ भन्ने प्रमाणित गर्यौँ । करिब ५८ प्रतिशत घरधुरीमा मात्र विद्युत पुगेको अवस्थाबाट ९९ प्रतिशतसम्म विद्युत पुर्याउने काम भयो। नेपाल विद्युत प्राधिकरणलाई पुनर्जीवित गर्दै देशलाई विद्युत आयातकर्ताबाट निर्यातकर्ता बन्न सक्ने आत्मविश्वास दिलायौँ। त्यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा छोटो समयमै बञ्चरेडाँडाको फोहोर व्यवस्थापनको अवरोध हटाउने, मेलम्ची खानेपानी पुनः सञ्चालन गर्ने, तातोपानी नाका खुलाउने, बाढीले क्षति पुर्याएका सडक पुनः सञ्चालन गर्ने तथा वर्षौँदेखि अलपत्र परेका विकास आयोजनाहरूको ठेक्का तोड्ने जस्ता महत्वपूर्ण काम अघि बढाइएका उदाहरण छन्। बुढीगण्डकी (१२०० मेगावाट), माथिल्लो अरुण (१०६३ मेगावाट) र किमाथांका अरुण (४५४ मेगावाट) जस्ता ठूला जलविद्युत आयोजनाहरू स्वदेशी लगानीमै निर्माण गर्न सकिने विश्वाससहित मोडालिटी तय हुनु पनि महत्वपूर्ण उपलब्धि हो। यी त केवल केही प्रतिनिधि कामहरू मात्र हुन्।
हामी काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा होमिएका थियौँ। लोडसेडिङ अन्त्यजस्ता काम गरेर जनताको मन जित्यौँ, तर यसपटक मतमा जित्न सकेनौँ। तर चुनावमा हार प्राविधिक विषय मात्र हो। छोटो समयमै तपाईंहरूले जनअभिमतमार्फत दिएको माया, विश्वास र सद्भाव हाम्रो लागि ठूलो ऊर्जा र मार्गदर्शन बनेको छ।
चुनावबाट परिवर्तनको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारी जनमत दिइएको छ। जनताको परिवर्तन र आर्थिक समृध्दिको आकांक्षा पूरा गरी देशमा सुशासन कायम गर्न उहाँहरू सफल होऊन् भन्ने शुभकामना व्यक्त गर्दछु। सरकारबाट हुने राम्रा कामको समर्थन र गलत काम भएमा उज्यालो नेपाल पार्टीले सडकबाट रचनात्मक रूपमा खबरदारी गर्दै जानेछ। अन्त्यमा, चुनावको परिणामले निराश नभई उज्यालो नेपाल निर्माणको अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।

प्रतिक्रिया