गण्डकी प्रदेशमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य


गण्डकी । गत बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा विजय हासिल गर्न सकेनन् । गण्डकीबाट दुवै दलको प्रतिनिधित्व शून्य बनेको छ । विसं २०७९ को चुनावमा गण्डकीबाट एमालेले पाँच र नेकपाले दुई निर्वाचन क्षेत्रमा जितेको थियो ।

अघिल्लो चुनावमा १० क्षेत्रमा जितेको नेपाली काँग्रेस पनि यसपटक गण्डकीमा दुई सिटमा सीमित रह्यो । विसं २०७९ को चुनावमा बागलुङ–१ मा विजयी बनेको राष्ट्रिय जनमोर्चाका उम्मेदवारको यसपालि जमानत नै जफत भयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेशका कुल १८ निर्वाचन क्षेत्रमध्ये १५ निर्वाचन क्षेत्रमा विजयी बन्न सफल भयो । म्याग्दी, मुस्ताङ र मनाङबाहेकका जिल्लामा रास्वपा उम्मेदवारले जितेका हुन् । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी बने ।

मुस्ताङबाट नेपाली काँग्रेसका योगेश गौचन थकाली र मनाङमा पनि नेपाली काँग्रेसकै टेकबहादुर गुरुङले संसद्को यात्रा तय गर्न सफल भए । रास्वपाले प्रदेश राजधानी रहेको कास्कीलगायत अधिकांश जिल्लामा जित निकालेको हो । रास्वपाबाट कास्की-१ खड्कराज पौडेल, कास्की–२ मा उत्तमप्रसाद पौडेल र कास्की-३ मा बिना गुरुङ विजयी बने । बागलुङका दुवै क्षेत्रमा पनि रास्वपाका उम्मेदवार विजयी बने ।

बागलुङ-१ मा सुशील खड्का र बागलुङ-२ मा सोम शर्मा विजयी बने । स्याङ्जाका दुवै क्षेत्रमा पनि रास्वपा उम्मेदवार विजयी बने । स्याङ्जा–१ बाट धनञ्जय रेग्मी र स्याङ्जा-२ बाट छविलाल डुम्रे ससंद्मा पुगेका हुन्। तनहुँका दुवै क्षेत्रमा पनि रास्वपाका उम्मेदवारले जितेका छन् । तनहुँ–१ मा स्वर्णिम वाग्ले र तनहुँ–२ मा श्रीराम न्यौपाने विजयी बने ।

यस्तै, नवलपुर–१ मा रास्वपाकै राजन गौतम र नवलपुर–२ मा मनिष खनाल विजयी बने। लमजुङमा रास्वपाका उम्मेदवार धर्मराज केसी विजयी बने। पर्वतबाट रास्वपाकै सागर भुसालले संसदीय यात्रा तय गरेका छन् । गोरखाका दुवै क्षेत्रमा पनि रास्वपाले जित्यो । गोरखा–१ मा सुदन गुरुङ र गोरखा–२ मा कवीन्द्र बुर्लाकोटी विजयी बने ।