जनकपुरधाम । निर्वाचन अधिकृतको कार्यालयले धनुषा–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मातृका यादवलाई प्रमाण पत्र हस्तान्तरण गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको उम्मेदवारी खारेजीले मतगणनाको अन्तिम परिणाम घोषणा विवादमा रहेको बेला मुख्य निर्वाचन अधिकृतको कार्यालयले यादवलाई सोमबार राति निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।
वित्तीय संस्थाले कालोसूचीमा राखेको कारण निर्वाचन आयोगको निर्देशनमा धनुषा–१ का निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको थियो ।
तर उम्मेदवारी खारेज भइसकेको अवस्थामा पनि साहले मत प्राप्त गरेका थिए । साहले ३० हजार ४९१ मत प्राप्त गरेका थिए । अन्य उम्मेदवारमध्ये नेकपाका मातृका यादवले १० हजार ४३०, नेपाली कांग्रेसका रामपल्टन साहले ९ हजार ५०२, नेकपा एमालेका रामचन्द्र मण्डलले ९ हजार ३२५ तथा राप्रपाका मनोज मल्लले ३ हजार ७१८ मत प्राप्त गरेका थिए ।
उम्मेदवारी खारेज गरिएको निर्णयविरुद्ध साहले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । उक्त विषयमा अदालतले हालसम्म कुनै आदेश जारी नगरेको अवस्थामा आयोगले मतगणना सम्पन्न भएपनि प्रमाणपत्र वितरण रोकेको थियो ।
तर व्यापक जनदबाबपछि आयोगले अन्य उम्मेदवारभन्दा बढी मत ल्याएका नेकपा उम्मेदवार यादवलाई सोमबार साँझ निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको हो ।

प्रतिक्रिया